काठमाडौं। नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मेवारी लिन जर्मनको लुफथान्सा एयरले पटक–पटक चासो देखाइरहेको छ। नेपाल सरकारले विदेशी व्यवस्थापकलाई ल्याएर केही समय निगम व्यवस्थापनको जिम्मेवारी दिने बताइरहेका बेला जर्मनको राष्ट्रिय ध्वजावाहक लुफथान्सा एयरले चासो देखाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुफथान्साबाट निगम व्यवस्थापनको जिम्मेवारी लिने प्रस्ताव आफूलाई आएको बताए।
‘केही समय अघिबाट लुफथान्साले निगम व्यवस्थापनको चासो देखाइरहेको छ,’ मन्त्री पाण्डेले भने, ‘दिने/नदिने भन्ने विषयमा निर्णय गरिएको छैन।’ मन्त्रालयले केही समयअघि निगमसँगै समग्र हवाई उड्डयन क्षेत्र उद्योग सुधारका लागि के गर्न सकिन्छ भनेर अध्ययन समिति बनाएर काम गरिरहेको बताउँदै व्यवस्थापकीय जिम्मेवारीबारे पनि सुझाव दिने जनाएको छ।
मन्त्री पाण्डेका अनुसार निगमको व्यवस्थापकीय सुधार कसरी गर्न सकिन्छ भनेर बाहिरबाट अध्ययनका लागिसमेत लुफथान्सालाई जिम्मेवारी दिइएको छ। उसले अन्य मुलुकका एयरलाइन्स व्यस्थापकीय सुधारका योजनामा अध्ययन गरेको र सुझावअनुसार काम गरेको पाइएकाले जिम्मेवारी दिन सकिने मन्त्री पाण्डेले औंल्याए।
निगमलाई अहिलेकै स्थितिमा सञ्चालन गर्न सम्भव नरहेकाले ‘बोल्ड डिसिजन’ गर्ने आन्तरिक तयारीमा सरकारले काम गरिरहेको उनले जानकारी दिए।
‘अध्ययन समितिले प्रतिवेदन बुझाउनेबित्तिकै हामी सोहीअनुसारले बोल्ड डिसिजन गरेर अगाडि बढ्छौं,’ मन्त्री पाण्डेले भने, ‘स्वदेशी होस् या विदेशी। जसलाई भए पनि व्यवस्थापन जिम्मेवारी दिने वा निजीकरणमा जान सक्छौं।’ हाल निगमले दुई वाइडबडी र दुई वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
निजीकरण वा व्यवस्थापन भित्र्याउने भन्नेमै अन्योल
निगम सुधारका लागि अहिले धेरैबाट थुप्रै सुझाव आएकाले तत्कालै कसरी अगाडि बढ्न सकिन्छ भन्ने टुंगो भने लागिनसकेको मन्त्री पाण्डेले बताए।
‘अहिले केहीले निजीकरण भनिरहेका छन् भने केहिले विदेशी व्यवस्थापनलाई ल्याउने भनिरहेका छन्,’ मन्त्री पाण्डेले भने, ‘सरकारले दुवै विषयलाई अध्ययन गरिरहेको छ। अब समितिले कस्तो सुझाव दिन्छ, त्यहीअनुसार अगाडि बढ्छौं।’
लुफथान्साले किन दिइरहेको छ चासो
लुफथान्साले निगमको व्यवस्थापनको जिम्मेवारी लिन चासो देखाएको यो पहिलोपल्ट भने होइन। उसले धेरै अगाडिदेखि निगमको व्यवस्थापन लिन खोजिरहे पनि हालसम्म कुनै सरकारले जिम्मेवारी दिन सकेका छैनन्।
जर्मनको प्रतिष्ठित एयरलाइन्सको रुपमा रहेको लुफ्थान्साले नेपालमा निगमसहित विभिन्न निजी एयरलाइन्स र हेलिकोप्टरलाई सामान दिँदै आएको छ।
नेपालमा काम गरिरहेकाले निगमको व्यवस्थापकीय जिम्मेवारी लिन पाए थप राम्रो हुन्छ भन्ने सोचका साथ लुफ्थान्साका प्रतिनिधिले पटक–पटक सरकारका प्रतिनिधिसँग छलफलमा रहिरहेको जनाएको छ।