काठमाडौं। पठाओ नेपालले नयाँ वर्ष २०८२ अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ। ‘सस्तो दर, भरपर्दो डेलिभरी’ नारासहित चैत २५ देखि वैशाख १७ गतेसम्म महोत्सव सञ्चालन हुने पठाओ नेपालले जानकारी दिएको छ।
महोत्सव अवसरमा कम्पनीले काठमाडौं उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजना ल्याएको पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले बताइन्। उनले भनिन्, ‘नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो। पठाओले त्यो चुनौती समाधान गर्दै, साना व्यवसायको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।’
पठाओको नयाँ योजनामा नयाँ दर्ता हुने सबै व्यापारीले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन्। कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिँदै उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ र काठमाडौँ उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ।
साथै, महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीले ५० बराबरको फेसबुक एड क्रेडिट जित्न सक्नेछन्। त्यस्तै, दैनिक अर्डर गर्ने व्यापारीमध्ये हरेक साता एक जनाले १०० वटा निःशुल्क डेलिभरी भौचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा सपिङ भाउचर जित्न सक्नेछन्।
पठाओले व्यापारीका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत उपलब्ध गराएको जनाएको छ। यसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्नेछन्।