काठमाडौं। प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले कार्यालयले जनाएको छ।
यस्तै अन्तराष्ट्रितर्फका केही उडान पनि ढिले भएको विमानस्थल कार्यालयले बताएको छ।
अत्यधिक वायु प्रदूषणका कारण अकास धूमिल हुँदा काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित बनेका हुन्।
कार्यालयका अनुसार काठमाडौंबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज मौसम खराबीका कारण ढिलाइ भएको छ। यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि मौसम प्रतिकूल हुँदा डिले भएको छ।
बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतीको पोखरा उड्नुपर्ने अर्को जहाज पनि काठमाडौंबाट उड्न सकेका छैनन्। यद्यपि श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सले रुकुम उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए।
अत्यधिक प्रदूषणकै कारण काठमाडौं साता दिनदेखि विश्वकै प्रदूषित सूचीमा परेको छ। आज पनि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढी रहेको छ।
काठमाडौंको वायु गुणस्तर फेरि अस्वस्थ तहमा पुगेको छ। आईकयू एयरले जारी गर्ने सूचीमा काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ।
आज बिहान ७ बजे गरिएको प्रदूषण मापनमा काठमाडौं विश्वकै प्रदूषित सूचीको शीर्ष स्थानमा परेको हो। दुई सातादेखि काठमाडौंको हावा प्रदूषित बनेको छ। पछिल्लो समय विभिन्न जिल्लामा फैलिइरहेको डढेलोले काठमाडौंको हावा प्रदूषित बनेको वातावरणविद्को बुझाइ छ।
प्रदूषण बढेसँगै अकास धूमिल हुँदा अन्तर्राष्ट्रिय जहाजसमेत डाइभर्ट भइरहेका छन्। आन्तरिक उडानमा समेत यसको असर परेको छ।
यस्तै, तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा आइतबार दिउँसोदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत तीन दिनदेखि उडान हुन नसकेको विमानस्थलका प्रवक्ता जशोदा रेग्मीले बताइन्।
उनका अनुसार तुँवालोका कारण पोखरा विमानस्थलबाट सोमबार ३ बजेदेखि एउटा पनि उडान भएको छैन। भिजिबिलिटी नपुगेर पोखराबाट हुने सबै उडान रद्द भएको उनको भनाइ छ।
मौसम खराबीका कारण सिचुवान एयरलाइन्सले पनि पोखराबाट चीनको छेन्दुमा व्यावसायिक चार्टर्ड उडान रद्द गरेको छ। मंगलबार छेन्दुबाट उक्त एयरलाइन्सको न्यारोबडी जहाज पोखरा अवतरण गर्ने तालिका भए पनि मौसम प्रतिकूल हुँदा अवतरण हुन भएन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान र अवतरण गर्न इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएको छ।