काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन गर्ने तयारी गरेको छ। एनआरएनएले आगामी अक्टोबरमा महाधिवेशन गर्ने तयारी गरेको हो।
आइतबार सम्पन्न पदाधिकारी बैठकले सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूलाई २०२५ अप्रिल १५ भित्र संघको मेम्बर इन्फरमेसन सिस्टममार्फत सदस्यता खुला गर्न निर्देशन दिइएको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।
बैठकले एमआईएस प्रणाली बाहेक अन्य माध्यमबाट प्राप्त सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ। संघको निर्देशन अवज्ञा गर्ने एनसीसीलाई केन्द्रीय स्तरबाट सदस्यता वितरणका लागि प्रमाणीकरण गर्ने व्यक्ति तोकिनेछ।
बैठकले थाइल्याण्डमा सम्पन्न युवा तथा पीएनओ सम्मेलन, कम्बोडियामा सम्पन्न एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन र माल्टामा सम्पन्न युरोप क्षेत्रीय सम्मेलनलाई सफल बनाउन योगदान गर्ने आयोजक क्षेत्र, एनसीसी, केन्द्रीय प्रतिनिधि, सहभागी, प्रायोजक, स्वयंसेवक, पत्रकार तथा नेपाल सरकारकासम्बन्धित निकायलाई धन्यवाद प्रस्ताव पारित गरेको छ।
यस्तै, आफ्नै भवन निर्माण गर्न चाहने राष्ट्रिय समन्वय समितिहरूलाई प्रोत्साहनस्वरूप आवश्यक लागतमा सदस्यता शुल्कको ४० प्रतिशत आर्थिक सहयोग केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
बैठकले १२औं महाधिवेशन तथा एकता अभियानलाई सर्वोच्च अदालतको निर्णयको भावना अनुसार विधिसम्मत रूपमा सञ्चालन गरिने प्रतिबद्धता दोहोर्याएको छ। सबै एनसीसीहरूको निर्वाचन सन् २०२५ को जुलाई महिनाभित्र सम्पन्न गरी त्यसपछि महाधिवेशन आयोजना गरिने निर्णय पनि बैठकले पुनः पुष्टि गरेको छ।
गैरआवासीय नेपाली संघले नेपालमा जेठ महिनामा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा प्रवासी नेपालीहरूको सहभागिता सुनिश्चित गर्न ७५ लाखको बजेट प्रस्ताव गरेको छ।
बैठकले टिम खेलकुदका लागि खेलाडी छनोट र नेपालसम्मको यात्रा व्यवस्थापन सम्बन्धित एनसीसीलाई जिम्मा दिने निर्णय गरेको छ। संघको केन्द्रीय स्पोर्ट्स एकेडेमीको समन्वयमा करिब आधा दर्जन खेलमा सहभागिता जनाइनेछ।
क्रिकेटको व्यवस्थापन अष्ट्रेलिया एनसीसी,भलिबलको जापान एनसीसी, र फुटबलको माल्टा एनसीसीलाई जिम्मा दिइने भएको छ।
युवा उपाध्यक्ष तथा युवा संयोजकले बैठकमा राष्ट्रिय खेलकुदसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए। जसलाई सम्बन्धित समितिहरू तथा व्यवस्थापन नियमसँगै सर्वसम्मत रूपले पारित गरिएको संघका प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिए।
बैठकमा थाइल्याण्ड, कम्बोडिया, र युरोप क्षेत्रीय सम्मेलनका आयोजक प्रतिनिधिहरू, सचिवालयका प्रमुख कार्यकारी निर्देशक तथा प्राविधिक एवम् लेखा शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।