काठमाडौं। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत तुलसीपुरले शुक्रबार थुना आदेश दिएसँगै बूढानीलकण्ठ निवासबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतमा हाजिर गराएर कारागार पठाइने भएको छ।
रविलाई जहाजबाट शनिबार भैरहवा लगेर रुपन्देही प्रहरी हिरासतमा राखिएको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा हुँदा अदालत बन्द रहेकाले आज हाजिर गराएर जेल पठाइने भएको हो।
रविलाई उच्च अदालत तुलसीपुरबाट थुना आदेश आउनासाथ शुक्रबार बूढानीलकण्ठ निवासबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा राखिएको थियो। पूर्वगृहमन्त्रीसमेत रहेका रविलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रुपन्देही पठाइएको प्रहरीले बतााएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो। उक्त धरौटी बदर माग गर्दै रविले उच्च अदालतमा रिट दायर गरेका थिए। तर, उच्च अदालतले जिल्लाको फैसला उल्टाएर रविलाई थुना पठाउने आदेश दिएसँगै काठमाडौंबाट रुपन्देही लगिएको छ।
रविलाई कार्यालय समय सुरु भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए। उनका अनुसार लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइनेछ।
रविलाई यती एयरलाइन्सको जहाजबाट शनिबार भैरहवा लगिएकामा शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले बताएका थिए।
आज अदालत खुल्नासाथ लामिछानेलाई हाजिर गराइनेछ। अदालती प्रक्रिया पूरा हुनासाथ कारागार चलान गरिनेछ।
रुपन्देही जिल्ला अदालतले रविसँग सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटी मागेको थियो। उनी धरौटी बुझाएर अदालतबाट तारेखमा छुटेका थिए।
तर, गत फागुन २६ मा जिल्ला अदालतको फैसला बदर माग्दै उच्च अदालत तुलसीपुरमा दिएको रिटमाथिको सुनुवाइमा रविलाई थुना पठाउने आदेश भएको हो।
शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीबाट गरिएको फैसला उल्टाउँदै थुना पठाउने आदेश जारी गरेको हो।