झापा। जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाउन निवेदन दिएका छन्।
मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए।
अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाए। वर्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको दावी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको उनको भनाइ छ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवं कोसी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले अबको दुई वर्षभित्र नेपालका १३ लाख सुकुम्बासीलाई धधीपूर्जा वितरण गरिने बताए। कार्यक्रममा भूमि आयोगका झापा अध्यक्ष मदन अधिकारीले बिचौलियासँग सहकार्य नगरी पालिकामार्फत प्रक्रिया पूरा गरेर आएका निवेदनलाई दर्ता गरी चाँडै धनीपुर्जा वितरण गरिने दाबी गरे।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा जगतबहादुर वस्नेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आयोगको काम, कर्तव्य र अधिकारसहित भावी कार्ययोजनाबारे जानकारी दिए।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वास्तविक हकदारलाई जग्गाको धनीपूर्जा वितरण गर्ने तयारी भइरहेको बताए। उनले मेचीनगरमा ६ हजार ३३० जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले धधीपुर्जाका लागि निवेदन दिएको जनाउँदै तीमध्ये पाँच हजार १५१ जनाले निस्सा प्राप्त गरिसकेको उनको भनाइ छ।
मेचीनगरमा भूमिहीन दलित ३५८ जना, भूमिहिन सुकुमबासी दुई हजार २४६ जना र र अव्यवस्थित बसोबासी तीन हजार ७२६ जना गरी छ हजार ३३० जनाले धनीपुर्जा पाउन नगरपालिकामा निवेदन दिएका छन्।