काठमाडौं । कलङ्कीदेखि महाराजगन्ज खण्डअन्तर्गत महाराजगन्ज नारायणगोपाल चोकको २ सय ४४ मिटर क्षेत्रमा ३५ ओटा ठूला भवन भत्काउनुपर्ने भएको छ । चक्रपथ बन्नुअघि पञ्चायतकालमा सडकको केन्द्रदेखि १५/१५ मिटर दायाँबायाँ छाडेर सडक विस्तार गरिएको थियो । तर, अहिले ८ लेनमा विस्तार गर्न ३१/३१ मिटर दायाँबाँया जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो ।
सोहि कारण त्यस खण्डमा रहेका ३५ ठूला भवन भत्काएर अधिग्रहण गरी सरकारी स्वामित्वमा ल्याउनुपर्ने सडक विभागले जनाएको छ । ‘महाराजगन्जको २४४ मिटरमा पञ्चायतकालमै रिङरोड बनाइएको थियो । त्योबेला १५/१५ मिटर मात्रै ‘सेन्टर लाइन’ बाट अधिग्रहण गरिएको रहेछ’ उनले भने, ‘अन्यत्र ३१/३१ मिटर अधिग्रहण गरिएको रहेछ, त्यो चोकमा मात्रै समस्या छ ।’
सो समयमै नारायणगोपाल चोकको सडकको केन्द्रमा खानेपानी पाइपलाइनका ‘बल्क डिस्ट्रिब्युसन लाइन’ गाडिएको छ । जहाँ, अन्डरपास र ओभरफ्लाइलगायतका संरचना बनाउने भनिएको छ । तर, पाइपलाइन स्थानीय ठेकेदारले सार्न सक्ने अवस्था नरहेको विभागअन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
‘नारायणगोपाल चोकको सडकको सेन्टर लाइनमै खानेपानीका ‘ब्लक डिस्ट्रिब्युसन लाइन’ गाडिएको छ । त्यो सार्नुपर्ने अवस्था आउँदा महाभारत हुन्छ’ उनले भने, ‘स्थानीय ठेकेदारले त्यो गर्न सक्ने स्थिति छैन । अहिले नै यो बिषयमा चासो छैन ।’
जग्गा अधिग्रहणका लागि प्रधानमन्त्री कार्यालयले सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणलाइ जिम्मा दिइसकेको छ । तर, तर, त्यससम्वन्धी निर्णय भइसकेको छैन् ।
त्यसक्षेत्रको जग्गा प्राप्ति र प्रारम्भिक अधिकारी तोक्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकिएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । ‘जग्गा प्राप्ती र प्रारम्भिक अधिकारीका लागि क्याबिनेटमा प्रस्ताव गइसकेको छ’ उनले भने, ‘आवश्यक बजेट निकासाका लागि भौतिक मन्त्रालयले अर्थ मन्त्रालयलाइ प्रस्ताव पठाएको छ ।’
आउँदो बैशाखअघि नै सो खण्डको ‘साइट क्लियरेन्स’ सकेर चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सरकारी योजना छ । तर, अझैपनि आयोजना स्थलका मुख्य काम क्लियरेन्स नभएसम्म चीनले हात हाल्ने स्थिति छैन् । खासगरी, पोल, तार र खानेपानीका पाइप क्लियरेन्समा समस्याले आयोजना हस्तान्तरणमा ढिलाइ हुन सक्ने थापाले बताए ।
झन्डै ६०० विद्युतीय पोल र सेवा प्रदायक संस्थाका तारहरु सार्ने काम भने निकै सुस्त छ । उक्त खण्डमा मेलम्ची खानेपानीका लागि बिच्छ्याइएका पाइप हटाउने अर्को मुख्य जटिल काम बाँकी नै छ । कलंकीदेखि चावहिलको गोपीकृष्ण फिल्म हलसम्म ११ किमि सडक विस्तार गर्न दिने योजना छ । तर, चिनियाँ कम्पनीले भने ८.३ किमि अर्थात् कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको विस्तार तथा निर्माण गर्ने सडक विभागले जनाएको छ ।
चार लेनको उक्त खण्ड ८ लेनमा विस्तार हुनेछ । कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सो खण्डका मुख्य—मुख्य क्षेत्रमा आकाशे पुल बन्नेछन् । सो खण्डको चिनियाँ कम्पनीले यसअघि नै सर्भे गरिसकेको छ । डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनीमार्फत नै हुनेछ ।
चिनियाँ अनुदानमा दुई बर्षभित्र सम्पन्न हुनेगरी चिनियाँ पक्षलाइ सडक निर्माण गर्न जिम्मा दिइनेछ । यसअघि पनि पहिलो खण्ड अन्र्तगत कलंकी—कोटेश्वर चक्रपथ पनि चिनियाँ सरकारकै सहयोग निर्माण भएको थियो ।
याे पनि पढ्नुहाेस्
दोस्रो खण्डको चक्रपथ विस्तारः रुखको 'क्लियरेन्स' सकियो, पोल र खानेपानी पाइप सार्न सकस