काठमाडौं। देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ। वनमा लागेको डढेलो, कृषकले खेतबारीमा संकलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ।
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा.डा. शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन्। अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ।
उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ। चितवन मेडिकल कलेजमा कार्यरत अधिकारी भने, 'अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढिरहेको छ, नियमित औषधि सेवन गर्नेलाई यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँछ।'
विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ। बालबालिकाको रोगसँग लड्ने क्षमता पूर्ण विकसित नहुने भएकाले उनीहरू बाहिर खेल्दा धुलोको सम्पर्कमा आउँदा दम र श्वासप्रश्वासका समस्या बढ्न सक्ने अधिकारीको भनाइ छ।
वायु प्रदूषणका कारण धुलोका कण र रसायनसहितको हावा हाम्रो फोक्सोमा पुग्ने बताउँदै उनले भने, 'हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीले केही हदसम्म ‘फिल्टर’ गर्छ, तर बाँकी प्रदूषण फोक्सोको भित्री भागसम्म पुगेर खोकी, श्वास फेर्न गाह्रो हुने र दीर्घकालीन असरहरू निम्त्याउँछ।'
हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो तथा फोहर मिसिएको जस्तो देखिने गरेको छ। पहिलेदेखि श्वासप्रश्वासको समस्या भएकाहरूलाई यो प्रदूषणले झन बढी प्रभावित बनाएको उनले बताए।
भरतपुर अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ डा. किरण देवकोटा बालबालिकामा अहिलेको प्रदूषित वायुले असर गरेको बताउँछन्। पहिलेको तुलनामा अहिले अस्पतालमा आउने बालबालिकाको संख्या बढेको बताउँदै उनले यो अवस्थामा बालबालिकालाई बाहिर निस्कन नदिन सुझाव दिए।
अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ। यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उनले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिए।