काठमाडौं । नेपाली बजारमा ट्रेडमार्क नक्कल गदै सामान उत्पादन गर्ने कम्पनीहरुको सख्या बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को सात महिनामा ट्रेडमार्क नक्कल गदै सामान बिक्री गरेको भन्दै उद्योग विभागमा १ सय ४८ ओटा उजुरी परेको विभागले जनाएको छ ।
विभागका अनुसार ट्रेडमार्कको नक्कल गरी सामान उत्पादन गर्नेहरुमा विदेशी भन्दा पनि नेपाली कम्पनीहरु धेरै छन् । यो बिषयमा विभागमा २०६५ फागुन देखि अहिलेसम्म ६ सय ८६ वटा उजुरी परेका छन ।
उजुरी गर्नेहरु अमेरिकी, बेलायती र भारतीय कम्पनीहरु बढी रहेको उद्योग विभागका सह–सचिव टंकबहादुर महतले बताए । उनका अनुसार विभागमा दुई किसिमका उजुरी आउने गरेको छन् । उनले भने, ‘ट्रेडमार्क दर्ता बदर गर्ने र अर्को टे«डमार्क आवेदन बदर गरी पाँउ भनेर निवेदन आउने गरेको छन् ।’
एउटा उद्योगको उत्पादनको ट्रेडमार्क अर्को कम्पनीले प्रयोग गरेको भन्दै विभागमा बदरको निबेदन गर्ने उजुरी आउने गरेका छन । विभागका अनुसार एउटै कम्पनीले २५ वटासम्म उजुरी गरेका छन् । चालु आर्थिक वर्षमा ट्रेडमार्क दर्ता आवेदन बदर गरी पाँउ भन्दै विभागमा ७० मुद्दा परेका छन् । त्यस्तै ट्रेडमार्क दर्ता बदर गर्न ५० उजुरी परेका छन् । यसमध्य तीन वटा उजुरी उपर फैसला भइसकेको विभागले जनाएको छ ।
यी कम्पनीका उत्पादन बढी नक्कल
विभागका अनुसार एसियन डिष्टिलरीले आफ्नो उत्पादनको ट्रेडमार्क नक्कल गरेको भन्दै १५ कम्पनी बिरुद्ध उजुरी गरेको छ । त्यस्तै कर्णाली डिष्टिलरी र हिमालयन डिष्टिलरीले पनि यस्तै उजरी १५÷१५ कम्पनी बिरुद्ध गरेका छन् । सीजी फूड्स नेपालले पनि उत्पादन नक्कल गरेको भन्दै १० भन्दा बढी कम्पनी बिरुद्ध उजुरी गरेको छ ।
नेपालमा विश्वमै ख्याति कमाएका ब्रान्डका सामाग्री पनि नक्कल गरि बिक्री भइरहेका छन् । आफ्नो उत्पादनलाइ अन्तराष्ट्रिय ब्राण्डको नाम दिइएको सामान भन्सारबाट नै जफत गर्ने गरिएको विभागले जनाएको छ ।