काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेसँगै उद्योगीहरू हर्षित भएका छन्। फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको जनाएको हो।
विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङ हुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको भन्दै विराेध हुँदै आएको थियो। विभिन्न औद्योगिक संघहरूले विद्युत दिन नसकेको भन्दै कुलमानविरुद्ध पत्रकार सम्मेलन गरेको थियो।
तर, पछिल्लो समय लोडसेडिङको विकराल समस्या समाधान गर्न भारतबाट आवश्यक मात्रामा विद्युत् आपूर्ति गरी लोडसेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उर्जा मन्त्रालय र सरकारलाई एसोसियसनले धन्यवादन दिएको छ।
एसोसियसनले विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगमा प्रत्यक्ष असर परिरहेको जनाएको थियो। एसोसियसनमा आवद्ध संघमा सदस्य रहेका उद्योगले क्षमताअनुसार निर्यातमुखी उत्पादन गर्न नपाएकाले उद्योगको आम्दानी तथा राज्यले राजश्व गुमाइरहेको भन्दै त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख छ।
पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतबाट थप विजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित आपूर्ति गरिरहेको छ।
यस्तै, स्वदेशी श्रम एवं सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवर्द्धन गर्दै विश्वबजारमा चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपरेका निर्यातमुखी उद्योगले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेकाले असुरक्षा र अनिश्चितताको विकराल समस्या भोगिरहेको एसोसियसनले जनाइएको छ।
पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतबाट थप विजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित आपूर्ति गरिरहेको छ। यससँगै अब औद्योगिक क्षेत्रले निरन्तर विद्युत् उपभोग गर्न पाउने सुनिश्चितताको अपेक्षा गरिएको छ।
एसोसियसनले स्वदेशी कच्चा पदार्थ एवं उत्पादन उपभोग तथा नियात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा योगदान गर्दै आएको जनाइएको छ। यसमा संगठित उद्योगहरुले निर्यातमार्फत राज्य र अर्थतन्त्रमा गरिरहेको योगदान उल्लेख्य रहेको तथ्यांकले प्रमाणित गर्ने विज्ञप्तिमा उल्लेख छ।
विगत लामो समयदेखि निर्यातमा सरकारले दिने नगद सहुलियत रकम निकासा रोकिएको एसोसियसनको दाबी रहेको छ। एसोसियसनले यथाशीघ्र सहुलियत रकम प्रदान गर्नका लागि सरकारको ध्यानाकर्षणसमेत गराएको छ।