काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थाइल्याण्ड गएको छ।
निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा प्रधानमन्त्री ओलीसँगै आज थाइल्याण्ड गएका हुन्।
थाइल्याण्ड भ्रमणका क्रममा दुई पक्षीय व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धिलगायतका विषयमा समझदारीसँगै सम्झौता हुने चेम्बर अफ कमर्सले जनाएको छ। नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा छुट्टै सम्झाको तयारीसमेत भएको छ।
थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ। थाइल्याणको निजी क्षेत्रसँग दुई पक्षीय व्यापार सहजीकरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बरका अध्यक्ष अग्रवालले बताए।
नेपाल र थाइल्याण्डका पर्यटकीय क्षेत्रहरूको पहिचान र प्रवद्र्धन गर्दै संयुक्त रुपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ। चेम्बर पदाधिकारी टोली आगामी २२ गते स्वदेश फर्किने छ।