काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुराना स्टक ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)लाई मर्जर खुलाएसँगै पुँजी बढाउन सहज हुने भएकाे छ। सेबोनले तोकिएको पुँजी वृद्धिका लागि मर्जरमा जान सक्ने गरी ब्रोकरको मर्जरसम्बन्धी निर्देशिका जारी गरेसँगै ब्रोकर कम्पनीले मर्जरबाट पुँजी बढाउन सक्ने भएका हुन्।
सेबोनले मर्जरको निवेदन पेस गरेको १५ दिनमै सैद्धान्तिक स्वीकृति दिने व्यवस्थासहित ‘धितोपत्र व्यवसायी गाभ्ने÷गाभिने वा प्राप्तिसम्बन्धी निर्देशिका, २०८१’ जारी गरेर उक्त सुविधा दिएकाे हाे।
सेबोनले २०७९ भदौ २९ गते स्टक ब्रोकर नियमावली, २०६४ को पाँचौं संशोधन गर्दै पुराना ब्रोकरको पुँजी वृद्धि गराएको थियो। नयाँ ब्रोकरलाई लाइसेन्स दिँदा ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेर पुरानालाई समेत ३ वर्षभित्र सो पुँजी कायम गर्न निर्देशन दिएको थियो। सेबोनले दिएको समय २०८१ असारमा समाप्त हुँदै छ।
सेबोनले तोकेको पुँजी कायम गरेर २ स्टक डिलर र ४० वटा नयाँ ब्रोकर कम्पनी थपिका छन्। हाल ९२ वटा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी सञ्चालनमा छन्। न्यूनतम २ करोड रुपैयाँसम्म पुँजी भएका पुराना ५० वटा ब्रोकर कम्पनीले ३ महिनाभित्र ५० करोड पुँजी कायम गर्नुपर्नेछ।
उक्त पुँजी मर्जर ता प्राप्ति गराएरसमेत कायम गर्न सकिने व्यवस्था नियमावलीमा छ। सोही नियमावली कार्यान्वयनका लागि सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१’ हो। निर्देशिकाअनाुसार ब्रोकर कम्पनीले सञ्चालक समिति तथा साधारणसभाले गरेको निर्णय गराएर आपसमा मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गर्नुपर्नेछ।
यस्तो सम्झौाता गर्दा मर्जर प्रकृयाको कार्यतालिकारहितको कार्ययोजना बनाउने, लेखा परीक्षण गराउनुपर्ने, कर्मचारी व्यवस्थापन सुनिश्चित गर्नु पर्ने, मर्जर कमिटी बनाएर अख्तियार दिनुपर्नेछ।
मर्जरको अन्य प्रकृयाका लागि सेबोनमा पेस गरेको १५ दिनभित्रै मूल्यांकन आधारमा सैद्धान्तिक सहमति प्रदान गरिने निर्देशिकामा उल्लेख छ। तर, सेबोनले सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने देखिए त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले सात कार्यदिनभित्र त्यसको कारण खुलएर निवेदकलाई जानकारी दिनुपर्नेछ।
मर्जर तथा प्राप्ति हुने ब्रोकर कम्पनीले सैद्धान्तिक सहमति प्राप्त गरेको धितोपत्र व्यवसायीले स्वतन्त्र मूल्यांकनकर्ताबाट आफ्नो सम्पत्ति, दायित्व तथा व्यावसायिक कारोबारको पछिल्लो अवधीको मूल्यांकन (ड्यू डेलिजेन्स अडिट) गराउनुपर्नेछ।
अन्तिम सम्झौता गरेर अन्तिम स्वीकृतिका लागि पेस भएको निवेदनमा बोर्डले प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा धितोपत्र व्यवसायी एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति दिन उपयुक्त देखिने निवेदन प्राप्त भएको १५ कार्यदिनभित्र अन्तिम स्वीकृति दिन सक्ने निर्देशिकामा उल्लेख छ।
धितोपत्र व्यवसायीले गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ।