काठमाडौं। नबिल बैंकले सोमबार राजधानीमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ। महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेकी थिइन्। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन्। उनले बैंकिङ क्षेत्रमा महिलाका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए।
“हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ”, अध्यक्ष पौडेलले भने।
पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए। उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए।
यस्तै, बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाको नेतृत्व बढाउन जरुरी रहेको बताए। उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।
कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन्।
“नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको वृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ”, उनले भनिन्, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।”