काठमाडौं। गत शुक्रबार राजावादी प्रदर्शनकारीले आगजनी गरेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले क्षतिपूर्ति माग्दै राष्ट्रिय बिमा कम्पनीमा पत्र पठाएको छ। केन्द्रले आगलागीका कारण करोडौंको क्षति अनुमान गर्दै राष्ट्रिय बिमा कम्पनीमा बिमा दाबी भुक्तानीका लागि पत्र पठाएको हो।
कम्पनीमा आगलागीका कारण उत्पादित वस्तुको मौज्दात, प्रयोगशाला, उत्पादनमा प्रयोग हुने स्वचालित मेसिन, सवारीसाधन, भवनलगायत अन्य स्थिर सम्पत्ति जलेका छन्। आगलागीले करोडौंको क्षति भएको अनुमान छ। क्षतिपूर्ति माग गर्दै राष्ट्रिय बिमा कम्पनीमा बिमा दाबीका लागि पत्र पठाएको केन्द्रका महाप्रबन्धक संगीता यादवले बताइन्।
‘हामीले अग्नि बिमा दाबी प्रकृया सुरु गरेका छौं। अहिले क्षतिपूर्ति व्यवस्थापन गरिदिन आगजनी भएको स्थान निरीक्षणका लागि पत्र पठाएका हौं,’ महाप्रबन्धक यादवले क्यापिटल नेपालसँग भनिन्, ‘उहाँहरु आएर सर्भे गरेर क्षतिको यकिन विवरण निकाल्नुहोला। हामीले क्षति विवरण निकाल्दै गरे पनि यकिन तथ्यांक आउन बाँकी छ।’
केन्द्रले राष्ट्रिय बिमा कम्पनीमा करिब १२ करोड रुपैयाँको ‘स्टक बिमा’ गरेको थियो। आगजनी समय केन्द्रको भण्डारमा करिब २१ करोड रुपैयाँ बराबरको उत्पादन थियो। आगजनीले करिब ५० प्रतिशत मात्रै क्षति गरेको हुँदा सोहीअनुसार क्षतिपूर्ति अपेक्षा केन्द्रले गरेको छ।
‘स्टकमा करिब २०÷२१ करोड रुपैयाँ बराबरको सामान थियो होला। हामीले स्टोरको १२ करोड रुपैयाँसम्मको बिमा गरेका छौं। बिमा गरेमध्ये सबै क्षति भएको छैन,’ उनले भनिन्।
केन्द्रबाट वार्षिक औषधी उत्पादन १७ करोड हुने गरेको छ भने वार्षिक १३ करोडसम्म कारोबार हुन्छ। केन्द्रमा २१ करोड रुपैयाँ बराबरको उत्पादन मौज्दात रहेको उनले जानकारी दिइन्। स्टकको क्षति करिब ५० प्रतिशत मात्रै भएकाले सोहीअनुसारको क्षतिपुर्ति दाबी गर्न बिमा कम्पनीलाई केन्द्रले चैत १७ मा पत्र पठाएको छ।
बिमा दाबी गर्न आगजनी स्थल अवलोकन नगरी नहुने भएकाले अहिले निरीक्षणका लागि सामान्य पत्र मात्र पठाइएको हो। बिमा गरेमध्ये पनि सबै क्षति नभएका कारण अहिले यकिन विवरण संकलन क्रममै रहेको उनको भनाइ छ।
‘हामीले स्टक बिमा मात्रै गरेको हुँदा त्यसले जलेका सामान मात्र कभर गर्छ। बिमा गरेकामा पनि सबै क्षति भएको छैन। त्यसमा कच्चा पदार्थ, आगलागी स्थल र प्याकेजिङ वस्तुमा मात्र क्षति भएको छ,’ उनले भनिन्।
नाफा हुनै लाग्दा आगलागी
२०३८ मा स्थापित सरकारको पूर्ण स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको वार्षिक कारोबार १७ करोड छ। कम्पनीको चालू पुँजी २४ करोड रुपैयाँ छ। कम्पनी गत आर्थिक वर्षमा घाटामा गएको अर्थ मन्त्रालय सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१ प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदनअनुसार गत आर्थिक वर्ष कम्पनीको घाटा २ करोड ८४ लाख रुपैयाँ देखिएको छ।
‘पहिला म्यानुअल गरिरहेका थियौं। गत वर्षदेखि अटोमेसन सुरु गरेकाले कम्पनी घाटामा गएको थियो। सामान राम्रो गइरहेकाले यस वर्ष नाफामा जान थालेको थियो। तर, आगलागीले पुनः नोक्सानी हुने देखिन्छ,’ महाप्रबन्धक यादवले भनिन्।
परम्परागत रूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्र प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन थालिएको थियो।
सार्वजनिक संस्थानसम्बन्धी अर्थ मन्त्रालयले वार्षिक रूपमा निकाल्ने प्रतिवेदनमा उल्लेख भएअनुसार कम्पनी ऐनअन्तर्गत स्थापना भएको जडीबुटी प्रशोधन केन्द्र वन मन्त्रालय मातहत छ।
कम्पनी आफैंले जडीबुटी खेती गर्ने, खरिद गर्ने, उत्पादन र व्यापार गरेर आम्दानी गर्दै आएको छ। कम्पनीले सञ्चो उत्पादन गरेर धेरैलाई रोजगारी दिँदै आएको छ।
कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ। यसमा सरकारी र संस्थानको लगानी रहेको छ। कम्पनीमा सरकारी निकाय मात्र सेयर सदस्य छन्। वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधी लिमिटेड र वन पैदावर विकास समिति कम्पनीका सेयर सदस्य हुन्।
आगजनीले निर्यातमा धक्का
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन नेपालमा मात्र नभएर विदेशमा पनि निर्यात हुने गरेको छ। कम्पनीले चार वर्षदेखि विदेशमा पनि आफ्ना उत्पादन निर्यात गर्दै आएको छ। युरोपेली मुलुक स्वीडेन र त्यसबाहेक अनौपचारिक रूपमा नेपाली रहेका सबैजसो देशमा कम्पनीले आफ्ना उत्पादन बेच्दै आएको थियो।
आगलागीका कारण कम्पनीको प्रयोगशाला, उत्पादनमा प्रयोग हुने स्वचालित मेसिन, सवारीसाधन र भवनसमेत जलेका छन्। कम्पनीले उत्पादन गरेको जडीबुटीयुक्त तेल सञ्चोलाई नेपालको स्वदेशी उत्पादनको सफल उदाहरण मानिने गरेको छ।
तर, राजावादी प्रदर्शनकारीले आगो लगाएपछि कम्पनीको उत्पादन रोकिएको छ। कम्पनीले कहिलेदेखि उत्पादन गर्ने हो निश्चित छैन।
सञ्चो ब्रान्डको रूपमा कम्पनीले थुप्रै जडीबुटी औषधी उत्पादन गर्दै आएको छ। जट्टा हेयर आयल, विभिन्न किसिमका मसाज आयल, बाम, स्यानिटाइजर, शिलाजित, विभिन्न प्रकारका तेल उत्पादन गर्दै आएको छ। पछिल्लो समय मह उत्पादन र प्रशोधन गरी बिक्री सुरु गरेको थियो।