काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल र सागसब्जी खेतीसम्बन्धी तालिम दिइरहेको छ। संघ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक र प्राविधिक सहायकलाई लक्षित गरी केन्द्रले आइतबारदेखि तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिम आयोजना गरिएको हो।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले मुस्ताङमा विभिन्न जिल्लाका कृषि प्राविधिक तथा किसानलाई यसप्रकारको तालिम अभ्यास बर्सेनि सञ्चालन गर्दै आएको छ। फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादन गर्न कृषि प्राविधिकलाई यसप्रकारको तालिम अभ्यास सञ्चालन हुने गरेको केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।
केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीमा गरिने प्रसारणका विविध विधि तथा प्रविधि अवलोकन गराउनेलगायत तालिम प्रशिक्षण गराउने गरेको छ। गुणस्तरीय बिरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टक बिरुवाको व्यवस्थापन तथा नर्सरी स्थापना र व्यवस्थापनलगातयत विषयमा कृषि प्राविधिकलाई व्यावहारिक रूपमा सिकाइने गरिएको प्रमुख आत्रेयले बताए।
तालिममा १६ जिल्लाका १८ कृषि प्राविधिकले सहभागिता जनाएका छन्। तालिममा पाल्पा र गुल्मीबाट दुई–दुई जनाको कृषि प्राविधिकको प्रतिनिधित्व छ। यसैगरी बाँके, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, पश्चिमनवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोटबाट समान एक–एक कृषि प्राविधिकको सहभागिता रहेको प्रमुख आत्रेयले जानकारी दिए। तालिम केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले संयोजन गरेका छन्।