काभ्रे। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएका हुन्।
काठमाडौंबाट पूर्वी तराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो। तर, बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई लक्षित गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ।
यसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ।
कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरे पनि ‘बिड ओपनिङ’ गर्ने, मूल्यांकन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए।
खोलाको उचाइ पनि बढेको र अहिले बगरमै गाडी गुडाइरहेका कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ। त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्र गतिमा काम भइरहेको छ।
बाढीले काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो। ‘तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ’, उनले भने, ‘अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौं।’
भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मंगलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेंसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ। अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुनेछ।
सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सब–इन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन्। आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ। त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन्।–रासस