काठमाडौं। सडक विभागले नागढुंगा–सिस्ने सुरुङमार्गमा सुरक्षाकर्मी राखेर काम गर्ने तयारी गरेको छ। स्थानीयले पटकपटक पुरा गर्न नसकिने एउटै माग राख्दै सुरुङमार्ग निर्माणमा अवरोध सिर्जना गरेपछि सुरक्षाकर्मी राखेर काम सुचारु गर्न लागेको विभागका महानिर्देशक रामहरी पोखरेलले बताएका हुन्।
नागढुंगा क्षेत्रका स्थानीयले खानेपानी समस्या समाधान, क्षमताअनुसार रोजगारी सिर्जना, खेतियोेग्य जमिनमा सिँचाइको सुविधा, चर्किएका घरहरुको उचित क्षतिपूर्ति, खानेपानी आयोजनामा भएको अनियमितता छानबिन, बिग्रिएका पम्पहरु मर्मत तथा अन्य संरचना मर्मतको खर्च तत्काल निकाशा र सप्लिमेन्ट्रिमा भनिएको कुरा पुरा गर्नुपर्ने माग स्थानीयले गरेका छन्।
चैत ३ गतेबाट सुरु भएको यो अवरोधले १५ दिनदेखि सुरुङमार्गको काम ठप्प छ। जसले गर्दा २०८२ को दसैसम्म सुरुङबाट सवारी सञ्चालन गर्ने सरकारी लक्ष्यमा असर पर्ने देखिन्छ। साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा सडक विभाग एवं आयोजना कार्यालयले सधैभरि खानेपानी, रोजगारी दिएर बस्न नसक्ने भएकाले स्थानीयको माग जाहेज नभएको महानिर्देशक पोखरेल बताउँछन्।
‘पोेहोर पनि यहि माग राखेर अवरोध भएको थियो हामीले खानेपानी बनाइ दिएका छौं, स्थानीय निकायले कसरी व्यवस्थापन गर्छ उसको कुरा हो’ उनी भन्छन्, ‘आजिवन खानेपानी उपलब्ध गराएर विभागले बस्न सक्दैन र काम पनि रोक्न मिल्दैन त्यसैले गृह मन्त्रालयसँग सुरक्षाकर्मी व्यवस्था गर्न माग गरेका छौं।’ खानेपानी मन्त्रालयले पनि आयोजना निर्माण गर्ने हो तर, आजिवन पानी दिएर नबस्ने भएकाले संघ सरकारबाट माग सम्बोधन गर्न नसकिने महानिर्देशक पोखरेल बताउँछन्।
विभाग र आयोजना कार्याललले अवारोध सिर्जना गर्ने स्थानीयलाई छलफल गर्न वार्ताका लागि बोलाएपनि उनीहरु नआएको महानिर्देशक पोखरेल बताउँछन्। विभागले भौतिक मन्त्रालयमार्फत गृहलाई सुरक्षाकर्मीको व्यवस्था सुरुङमार्ग निर्माण स्थलमा गर्न आग्रह गरेको थियो। १५ गते उपत्यकामा भएको राजाावादीहरुको आन्दोलनमा कारण केही दिनपछि मात्रै यो विषयमा छलफल अघि बढ्ने आश्वासन गृहले दिएको छ।
२०७६ कात्तिक ४ गतेबाट निर्माण थालिएको नागढुंगा सुरुङमार्गको मुख्य लम्बाइ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको २ हजार ५ सय ५७ मिटर छ । २०८१ वैशाख ३ गते ब्रेक थ्रु भएर हाल सुरुङभित्र लाइटिङ, कङ्क्रिट सडक निर्माण र बलम्बुमा फ्लाइओभर निर्माण भइरहेको छ। मुख्य सुरुङमार्गमा ढलानको काम सकिएको छ भने आपदत्कालिन मार्गमा काम भइरहेको बेला स्थानीयले अवरोध गरेका हुन्।
नागढुंगा सुरुङमार्ग सडक सञ्जालमा नेपालमा निर्माण भएको पहिलो सुरुङ हो। सुरुङमार्ग सञ्चालनको मोडालिटी सरकारले तयार गरेको छ। अब सुरुङ ‘फिनिसिङ’को कामसँगै सञ्चालनका लागि ठेक्का आह्वान गर्ने योजना आयेजना कार्यालयको छ।