काठमाडौं। रसुवामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स सहयोगस्वरुप उपलब्ध गराएको छ।
विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते,सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो।
आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत वितरित एम्बुलेन्स आयोजनाप्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गर्नेछ। आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स वितरण गरिने कम्पनीले जनाएको छ।
हेस्थ पोस्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याएर जीवनरक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा कम्पनीको छ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सु मिनले सोमबार हाकुमा आयोजित कार्यक्रममा एम्बुलेक्सको चाबी पालिका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे।
गाउँपालिका अध्यक्ष तामाङले विकास आयोजना स्थानीयसँगको सहकार्य र समन्वयमा सञ्चालन गरिए मात्र सफल हुने बताउँदै आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावित हुने भएकाले सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरिसकेको बताएको छ। माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो।