सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ। १९५ लाई हरियो, ४४६ लाई पहेंलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेंलो क्षेत्रमा वर्गीकरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो।
हरियो क्षेत्र पूर्ण अर्गानिक, पहेंलो क्षेत्र सामान्य, रातो क्षेत्र चिन्ताजनक मानिएको छ। मन्त्रालयले सबै वडालाई पूर्ण प्रांगारिक बनाउने योजना अगाडि सारेको छ।
कर्णाली प्रदेशमा माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको पाइएपछि अर्गानिक प्रदेश बनाउने पहल थालिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रयोगशालाका प्रमुख एवं वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले बताए।
उनका अनुसार कर्णालीलाई अर्गानिक प्रदेश बनाउन जैविक विषादी प्रयोग गर्न कृषकलाई आग्रह गरिए पनि बढी उत्पादन गर्ने आसमा रासायनिक विषादीको प्रयोग बढ्दा माटोमा अम्लियपन पनि बढेको हो। साविक कर्णालीको कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा रासायनिक विषादी प्रयोगमा रोक लगाइए पनि लुकीछिपी रासायनिक विषादीप्रयोग र बिक्रीवितरण भइरहेको पाइएको रोकायले जानकारी दिए।
जुम्ला र कालीकोटमा अध्ययन गर्दा किसानले रासायनिक विषादीको प्रयोग गरेको पाइएको उनको भनाइ छ। चालू आवमा १० वटा शिविर सञ्चालन गरेर माटोको उपचार गर्ने लक्ष्य राखिएको एकीकृत कृषि प्रयोगशाला कार्यालयले जनाएको छ। हालसम्म दुई वटा शिविर सम्पन्न भइसकेका छन्।
प्रदेशका एक जिल्लामा एउटा माटो शिविर असार मसान्तभित्र सक्नेगरी तयारी भइरहेको वरिष्ठ अर्थविज्ञ रोकायाले बताए। उनले अम्लीयपनले माटो कमजोर भएकाले बाली लगाइसकेपछि माटो परीक्षण गर्नुपर्ने जनाए।
माटो शिविरमा नाइट्रोजनलगायत तत्व भए नभएको जाँच्ने गरिएको छ। त्यसका लागि प्रयोगशालामा एउटा उपकरणसहित सवारीको व्यवस्था भए पनि उक्त सवारी सञ्चालन गर्ने चालकको दरबन्दी नहुँदा सबै ठाउँमा लैजान नसकिएको रोकायाले बताए।–रासस