काठमाडौं। जापानको राजधानी टोकियोस्थित र्युत्सु सेन्टर (टीआरसी)मा ‘नेपाल ह्युमन रिसोर्स म्याचिङ फेयर हनेडा टोकियो जापान २०२५’को कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा ३० जना नेपालका श्रमिक आपूर्ति संस्था तथा प्रशिक्षण केन्द्रले सहभागिता जनाएको थियो। कार्यक्रममा दुई सयभन्दा बढी जापानी कम्पनी, दर्ता भएको संस्था, पर्यवेक्षण संस्था तथा रोजगारदाता कम्पनीले पनि सहभागिता जनाएको हो। यसले जापानी नियोक्ताको नेपाली कुशल श्रमिकप्रति बढ्दो रूचिलाई केन्द्रीत गरेको छ।
कार्यक्रमको उद्घाटन क्योदाई रेमिटेन्सका अध्यक्ष युइचिरो किमोटो, आईएमई समूहका अध्यक्ष हेमराज ढकाल, एनडब्लूएसओका निर्देशक गणेशमान योञ्जन र एनडब्लूएसओका अध्यक्ष यामानो शिनिचिरोको संयुक्त उपस्थितिमा भएको हो।

उनीहरूले दुई देशको सम्बन्ध मजबुत बनाउने, रोजगारीका अवसर विस्तार गर्ने र श्रमिकलाई पठन प्रक्रिया सुरु बनाउने आवश्यकतामा जोड दिए। कार्यक्रममा एक दिने व्यापारिक बैठकको आयोजना सम्पन्न भएको थियो।
यस्तै, जापानी भाषामा एक समानान्तर सेमिनार पनि सम्पन्न भयो। पहिलो सत्रमा जेआईटीसीओका कार्यकारी निर्देशक शिगेओ मात्सुतोमीले विश्व बजार र विविध मानव संशाधनको आवश्यकतामा प्रस्तुति दिए।
दोस्रो सत्रमा शिनिचिरो यामानोले नेपालबाट भर्ती प्रक्रिया र सफल भर्तीका लागि आवश्यक कारकमा जानकारी दिएका थिए। कार्यक्रममा नर्सिङ, यातायात, निर्माण, होटल, खानपान र कृषि जस्ता क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफलको अवसर प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली राजदूत मुख्य अतिथिका रूपमा उपस्थित हुने भनिए पनि रद्द भएको थियो। यसैबीच म्यानपावर कम्पनीका प्रतिनिधिले भने, ‘हालै राजदूतले ओसाकामा म्यानपावर कम्पनीको सहभागितामा भएको सानो कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। तर, यति ठूलो कार्यक्रममा आउनु भएन।’
उनीहरूले पक्षपातपूर्ण व्यवहारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मानव संशाधन क्षेत्रको एकताबद्ध र पेशेवर छवि निर्माणमा बाधा भएको बताएका थिए। प्रतिनिधिहरूले राष्ट्रिय प्रतिनिधिले निष्पक्ष रूपमा सबै समान समर्थन दिनुपर्ने आवश्यकतामा जोड दिए।
कार्यक्रम नेपाल एयरलाइन्स, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय कृषि संघ, स्कुल कर्पोरेशन एले गाकुएन, भिलेज हाउस म्यानेजमेन्ट कम्पनी, किराबोशी बैंक, यूआई बैंक, लसन बैंकलगायत विभिन्न संस्थाको सहयोगमा सम्पन्न भएको हो।

नेपाल ह्युमन रिसोर्स म्याचिङ फेयर २०२५ ले नेपाल र जापानबीच श्रम आदान-प्रदान क्षेत्रमा सहकार्य बढाउने ऐतिहासिक पहलको रूपमा चिनिन्छ। यसले दुवै देशका लागि दीर्घकालीन फाइदा हुने अपेक्षा गरिएको छ।

