काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड जाँदै छन्। बिमस्टेक सम्मेलनसँगै पहिलो पटक प्रधानमन्त्री स्तरीय भ्रमणसमेत थाइल्याण्डमा हुने भएको छ।
पाँच दिने भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)सँग औपचारिक भेटसमेत गर्ने छन्। प्रधानमन्त्री स्तरको पहिलो भ्रमण भएकाले नेपालले विशेष चासोका साथ हेरिएको छ। सरकारी कर्मचारीहरुको दलबलसहित थाइल्याण्ड भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीसँगै जाने व्यवसायीहरुको लर्कोसमेत धेरै छ।
जहाँ प्रधानमन्त्रीको भ्रमण हुन्छ त्यहाँ व्यवसायी पनि सहभागी हुने प्रचलन बनिसकेको छ। यतिसम्मकी प्रधानमन्त्रीलाई आफ्नो पक्षमा पार्न वा आफू अनुकुल बनाउन व्यवसायीहरुले प्रधानमन्त्रीलाई साक्षी राखेर दुई पक्षीय सम्झौतासमेत गर्ने गरेका छन्।
सम्बन्धित मुलुकका व्यवसायीहरुलाई पनि कन्भिन्स गराउन वा आफूसँग प्रभावित पार्नका लागि प्रधानमन्त्री स्तरीय भ्रमणको अवसरमा धेरै सम्झौताहरु हुने गरेको छ। यो पटकको भ्रमणमा पनि धेरै सम्झौता गर्ने गरी व्यवसायी थाइल्याण्ड भ्रमणमा निस्कन लागेको जनाएको छ।
२६ जना उद्योगी व्यवसायी जाँदै
प्रधानमन्त्री ओलीसँगै २६ जना उद्योगी व्यवसायी थाइल्याण्ड भ्रमणमा निस्कने तालिका छ। प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु र विभिन्न उद्योगीहरु व्यवसायी सहभागी हुने जनाएको छ।
जसमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्वोत्सना श्रेष्ठ, चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्ष अर्जुन शर्मा र अन्तर्राष्ट्रिय चेम्बरको तर्फबाट राजेशकाजी श्रेष्ठ सहभागी हुने छन्।
उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र केही पदाधिकारी सहभागी हुने जनाएको छ। यस्तै गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्याण, गोर्खा ब्रुअरीका सुरेन्द्र सिलवालसहित प्रतिष्ठित उद्योगी व्यवसायीको सहभागिता रहने छ। भ्रमणको क्रममा व्यवसायीहरुले दुई पक्षीय विभिन्न सम्झौताहरु गर्ने उल्लेख गरिएको छ।
यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका
कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलो पटक औपचारिक भ्रमण हुँदै छ। २० गतेबाट औपचारिक भ्रमण सुरु हुनेछ।
भ्रमणको क्रममा पर्यटन र संस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै संयुक्त प्रेस ब्रिफिङ हुनेछ।
थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुनेछ। २१ गते (३ अप्रिल) बिहान थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग भेटघाट र छलफल हुनेछ। दिउँसो एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने छन्। साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरुलाई दिइने औपचारिक डिनरमा सहभागी हुने छन्।
२२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुने छन्। सोही दिन बिहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुने छन्। दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँझ दूतावासमा हुने कार्यक्रमसँगै भ्रमणको कार्यक्रम सकेर २३ गते स्वदेश फर्किने छन्।