काठमाडौं। नेपालमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने भएको छ। भक्तपुर टुर्स र अन्य संस्थाको आयोजनामा भक्तपुर दरबार सिद्धपोखरी र योसिखेलमा क्यालेन्डर प्रदर्शनी हुने भएको हो।
यसबाट देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। जहाँ देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठनलगायतका विभिन्न संघसंस्थाहरूले आफ्ना आकर्षक क्यालेन्डरहरू प्रदर्शन गर्ने छन्।
क्यालेन्डर मात्र नभई यस प्रदर्शनीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्रत्येक क्यालेन्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ। बिस्का जात्रा हेर्न बैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भन्दै आयोजकले सोही अवसरमा क्यालेन्डर प्रकाशकहरूलाई आफ्ना क्यालेन्डर प्रदर्शन गर्न आग्रह गरिएको जनाएको छ।
नेपालमा क्यालेन्डर केवल मिति हेर्ने साधन मात्र नभई संस्कृति, परम्परा, र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ। यो प्रदर्शनीले देशभरका नागरिकलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक र ऐतिहासिक महत्त्व बोकेका क्यालेन्डरको अवलोकन गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो। २०८२ मा यो संख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ।