काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ। बिहान ८ बजेबाट मतदान गर्ने भनिए पनि प्राविधिक तयारी पूरा नहुँदा भर्खरै मात्र मतदान सुरु भएको त्रिवि निर्वाचन समितिले जानकारी दिएको छ। मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ।
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा विद्युतीय मतदान हुनेछ। यसअघि २०७९ मा पनि विद्युतीय उपकरणमार्फत मतदान गराइएको थियो। त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।
यसअघि चैत ५ मा निर्वाचन तय भए पनि विद्यार्थी संगठनको तालाबन्दीका कारण स्थगित भएको थियो।
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुको नेतृत्वमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत संगठन प्रतिस्पर्धा गरेका छन् भने केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।
चुनावमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालमेल गरेर उम्मेदवारी दिएका छन्। नेविसंघ, अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धा गर्दै छन्।
अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपकराज जोशी, अखिल क्रान्तिकारीबाट प्रविन दाहाल, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, सुधारवादी विद्यार्थी संघबाट मिलन तामाङ, नेक्राविसंघबाट विमल सुवाल, अखिल क्रान्तिकारी बहुमतबाट राजन साउद स्वतन्त्र उम्मेदवार पद्मा भुसाल अध्यक्षका प्रतिस्पर्धी हुन्।
स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्का, अनेरास्ववियु (क्रान्तिकारी) बाट भुवन तिमिल्सेना, स्वतन्त्र उम्मेदवार दिप्रसन केसी, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिंह साउद पनि अध्यक्ष पदका लागि मैदानमा छन्।