काठमाडौं। एक वर्षमै नेपालमा शङ्कास्पद कारोबार २४ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो उल्लेख गरेको हो।
प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्त लगानी निवारण प्रणालीमा थप सुधार तथा निगरानीमा कडाइ गर्नुपर्ने सुझाएको छ। प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा शङ्कास्पद कारोबार तथा गतिविधि संख्या २४ प्रतिशतले वृद्धि भई ७ हजार ३ सय ३८ पुगेको छ। अघिल्लो आवमा यस्तो कारोबार संख्या ५ हजार ९ सय ३५ रहेको थियो।
शङ्कास्पद कारोबारमा कर छली, मौद्रिक र बैंकिङ्ग, विदेशी विनिमय, बिमा, सहकारी, ठगी, चिठ्ठा, जुवा, तथा सट्टेबाजीसम्बन्धी गतिविधिहरू प्रमुख रूपमा संलग्न देखिएका छन्। प्राप्त शङ्कास्पद कारोबार प्रतिवेदनमध्ये ३५ प्रतिशतले वृद्धि भई विश्लेषणको संख्या १,६३२ पुगेको छ।
सोमध्ये ८ सय ८९ प्रतिवेदन कानून कार्यान्वयन निकाय तथा नियामक निकायहरूमा अनुसन्धानका लागि पठाइएका छन्। साथै, सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधका प्रवृत्तिहरूमा हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयातरनिर्यातको माध्यमबाट सम्पत्ति शुद्धीकरणका गतिविधिहरू उल्लेखनीय रूपमा देखिएका छन्।
यस्तै, सीमा कारोबार रिपोर्टिङको संख्या आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार ३ सय ९८ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १६ लाख ९७ हजार ७ सय १२ कायम भएको छ। प्रतिवेदनअनुसार नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अनुसार रिपोर्टिङ्ग संस्थाहरूको संख्या वृद्धि भई १,६३९ पुगेको छ।
हाल नेपाललाई वित्तीय कारबाही कार्यदल एफटिएफले थप अनुगमनको सूचीमा राखेको छ। नेपालले एफटिएफको सूचीबाट बाहिरिनका लागि समयबद्ध सुधारात्मक कार्ययोजना कार्यान्वयन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।