काठमाडौं। काठमाडौं बाहिर इतिहासमै पहिलो पटक पोखरामा अटो शो गरियो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा सञ्चालन भएको वाडा अटो शोमा ठूला व्यावसायिक घरानाहरुको उपस्थित रह्यो।
पहिलो पटक सञ्चालन भएको वाडा अटो शोको परिदृष्य काठमाडौं जस्तै उत्कृष्ट देखिएको छ। चितवन, दमौली, खैरेनी, स्याङजा, बागलुङलगायतका ठाउँबाट अटो शो अवलोनकन गर्न आइरहेको वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए।
पहिलो पटक पोखरामा भइरहेको वाडा अटो शोले पोखरालाई अटोमोबाइल उद्योगको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना राखेको बताए। ‘पहिलो पटक भइरहेको वाडा अटो शोले पोखरालाई अटोमोबाइल उद्योगको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना राख्दछ,’ अध्यक्ष कोइराला भन्छन्, ‘वाडा शोमा जुन किसिमको अवलोकनकर्ताले चासो देखाएका छन् त्यसले हामीलाई एकदमै उत्साहित बनाएको छ। हामीले सोचे अनुसार नै ग्राहकहरु आएर अवलोकन गरिरहेका छन्।’
विगत चार पाँच वर्षदेखि नै वाडा अटो शो गर्ने प्रयास गरे पनि त्यो सम्भव भएको थिएन। यो पाली नाडाको सहयोगमा वाडा अटो शो २०२५ गर्न सफल भएका छौँ। यो वर्षदेखि हरेक वर्ष वाडा अटो शो गर्ने अध्यक्ष कोइरालाको भनाइ छ।
शनिबारसम्म २० हजार अवलोकनकर्ता आएकोमा आज अन्तिम दिन ५–७ हजार अवलोकनकर्ता आउने अनुमान हामीले गरेका छौं,’ अध्यक्ष कोइरालाले भने, ‘हामीले विद्यार्थीहरुलाई कार्डको आधारमा पनि प्रवेश गराएको भएर हिजोसम्ममा २० हजार अवलोकनकर्ता आएका छन्। बाहिरी ठाउँबाट पनि वाडा अटो शो अवलोकन गर्न आइरहेका छन्। जसले गर्दा व्यवसायमा एक किसिमको उत्साह देखिएको छ।’
पोखरामा भएको सफल अटो शोले अन्य जिल्लामा पनि गर्न सकिने र उपभोक्ताको राम्रो उपस्थिति रहने देखिएकाले आगामी दिनमा कार्यक्रम गर्न बाटो खुलेको व्यवसायीहरुको भनाइ छ।
वाडा अटो शो २०२५ ले पोखराको अर्थतन्त्र र पर्यटनका लागि ठूलो मद्दत गर्ने छ। पोखरामा मात्र होइन, गण्डकी प्रदेश र नेपालकै आर्थिक गतिविधि बढाउन योगदान पुगेको व्यवसायीहरुको भनाइ छ।

अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान गर्दै आइरहेको अटो क्षेत्रमा संलग्न उद्योगी, व्यवसायीलाई वाडा अटो शोले सकारात्मक प्रभाव पारेको छ। कयौँ डिलरहरू समस्यामा परिरहेको बेला यो वाडा अटो शोले उनीहरूमा आशा जगाएको छ।
नाडा अटो शोमा जस्तै वाडा अटो शोमा पनि विभिन्न ब्राण्डका दुई पांग्रे, चार पांग्रे गाडीसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू राखिएका छन्। जसमा ईभी र पेट्रोल डिजेल गाडीको हिस्सा बराबरी देखिएको छ।
पोखराको अमरसिंह मैदानमा भइरहेको वाडा अटो शोमा ४२ भन्दा धेरै सवारीसाधन डेलिभरि पनि भएको आयोजकको भनाइ छ।
कुन कुन ब्रान्ड सहभागी भए?
बिहीबारदेखि सञ्चालन भएको वाडा अटो शोमा प्यासेन्जर सेग्मेन्टमा लिपमोटर, सिट्रोन, ओमोडा एण्ड जेक्को, जिकर, निसान, बिवाईडी, एलईभी ०१, स्काईवल, एमजी, टाटा, टोयोटा, किया, सुजुकी, महेन्द्रा, रिडारा, एक्सपेङ, काई, सेरेस, डिपललगायतका ब्रान्डहरुले स्टल राखेका छन्।
लाइट कमर्सियलमा कामा, यु गो नाउ, स्काइवर्थ हाइगर, डोङफेङ, ब्रान्ड सहभागी छन् भने दुई पांग्रेतर्फ बजाज, एथर, टिभीएस, यामाहा, ट्रायम्फ रोयल इन्फिल्ड छन्।