काठमाडौं। झण्डै चार वर्षदेखि ग्राउण्डेड गरिएको ६ वटा चिनियाँ जहाज खरिद गर्न प्रस्ताव आएको छ। नेपाल एयरलाइन्स उच्च श्रोतका अनुसार एक विदेशी समूहले पाँच वटा जहाज खरिद गर्ने प्रस्ताव गरेको हो।
केही वर्षअघि पटक-पटक लिलामीका लागि सूचना जारी गरे पनि बिक्री हुन नसकेको सो जहाज अहिले खरिदका लागि भन्दै प्रस्ताव आएको ती उच्च अधिकारीको भनाइ छ। ‘अहिले छलफलकै चरणमा रहेकाले कुन मुलुकको भनेर नखुलाउ,’ ती अधिकारीले भने, ‘खरिदको डिल अगाडि बढेपछि सैद्धान्तिक सहमतिका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत पत्र पठाएका छौँ।’
छलफलका चरणमा रहेकाले नै मूल्य कतिमा फाइनल हुन्छ? भन्ने यकीनसमेत हुन नसकेको ती अधिकारीको भनाइ छ। ‘लिलामीमा समेत चढाइसकेको हुनाले जतिसक्दो चाडो बिक्री गर्न खोजिरहेका छौँ,’ ती अधिकारीले भने, ‘सरकारको लगानी रहेकाले हामीले मात्र निर्णय गरेर नहुने भएको सैद्धान्तिक सहमतिका लागि पत्र पठाएका हौँ, अहिलेसम्म जवाफ आएको छैन।’
मन्त्री व्यस्त हुँदा दुई सातादेखि मन्त्रालयमै अड्कियो पत्र
पर्यटन मन्त्री बन्द्रीप्रसाद पाण्डे घुमघाममा व्यस्त रहँदा मन्त्रालयको महत्वपूर्ण कामहरु रोकिएको छ। तीमध्येको करिब २ सातादेखि नेपाल एयरलाइन्सले पाँच वटा जहाज बिक्रीका लागि आवश्यक सैद्धान्तिक सहमति मागेको पत्रमा हालसम्म कुनै पनि छलफल नभएको एक सहसचिवले जानकारी दिए।
‘जहाज बिक्रीका लागि दुई साताअघि पत्र आएको छ,’ ती सहसचिवले भने, ‘मन्त्री ज्यूको व्यस्तताको कारण यो विषयमा कुनै छलफल नै हुन नसक्दा जवाफ पठाउन सकिएको छैन।’ यस विषयमा मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले नेपाल एयरलाइन्सले पठाएको पत्रबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
यता नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले चिनियाँ जहाज खरिदमा आएको प्रस्तावबारे कुनै पनि टिप्पणी गर्न चाहेनन्।
११ वर्षअघि ६ अर्बमा किनेको थियो जहाज
२०७७ चैतदेखि ग्राउण्डेड भएको ६ वटा चिनियाँ जहाज नेपाल एयरलाइन्सले ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरिद गरेको थियो।
कूल रकममध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग थियो। ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो। २०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले आन्तरिक उडानका लागि ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गरेर २०७० मंसिरमा खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदबाट जहाज खरिद गर्ने निर्णय गर्दै चीनसँग सम्झौता गरिएको थियो।
सुगम रुटको उडानका लागि ५६ सिट क्षमताका दुइटा एमए ६० र दुर्गम र हिमाली भेगको उडानका लागि १९ सिट क्षमताका चार वटा वाई १२ ई जहाज ल्याइएका थिए । तीमध्ये एउटा वाई १२ ई जहाज दुर्घटनामा परेको थियो।
अर्थ मन्त्रालयले २०७७ चैतमा सो जहाजलाई लिलाम वा भाडामा दिन सक्ने गरी नेपाल एयरलाइन्सलाई नै अधिकार दिएको थियो।