काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहले गरेको आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेर लुटपाट भएको थियो । उक्त कार्यमा संलग्न ९ जनालाई काठमाडौंका विभिन्न स्थानहरुबाट प्रहरीले १६ र १७ पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–६ ढल्केवरका आशिष सिंह रहेका छन् । उनले तीन बोतल रक्सी लुटेका थिए ।
यस्तै चार थान बियर लुट्ने सर्लाही बरथहवा–६ का प्रेम कुमार महतो, यार्चागुम्बा रक्सी लुटने भारतको बिहारका रवि रञ्जन कुमार, ११ थान हाफ पाइन्ट, एक थान ट्राउजर लुटने नुवाकोट–६ बिदुरका सुशिला कुमाल, १ थान ट्रे र १ थान क्यारेट लुटपाट गर्ने धरानका एलिसा राई पक्राउ परेका छन् ।
यस्तै १ थान क्यारेट लुटपाट गर्ने कोटेश्वर नरेफाँट बस्ने बालकुमारी कार्की, फलफूल लुटपाट गर्ने सिन्धुपाल्चोक जिल्ला चौताराचोकगढी नगरपालिका–८ निर्मला कार्की, सिन्धुली तिनपाटन गाँउपालिका–७ की चित्र माया बस्नेत र ६९ थान लिपिस्टक, ऐना १ थान, गाजल २१ थान, अन्य सामान १२ थान लुटने सिन्धुली तिनपाटन गाँउपालिका–१६ की सुस्मिता बराल पक्राउ परेको प्रहरीले जनाएको छ ।