काठमाडौं। आयोजना तयार नै नभएका ठाउँमा बजेट प्रस्ताव गर्नभन्दै अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई बजेट सिलिङ (बजेट सीमा) पठाएको छ। आवश्यक ठाउँमा बजेटका लागि सीमा नपठाई तयारी नै नभएका आयोजनाका लागि अर्थले एक्कासी बजेट सिलिङ पठाएपछि विकासे मन्त्रालय तनावमा परेको हो।
अर्थ मन्त्रालयले पहिलो पटक आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङ (बजेट सीमा) तोक्दा मन्त्रालयहरु असन्तुष्ट देखिएका छन्। यसअघि राष्ट्रिय योजना आयोगले सिलिङ तोक्ने र विषयगत मन्त्रालयले बजेट ‘मन्त्रालयगत बजेट सूचना प्रणाली’ (एलएमबिआइएस) अर्थमा पठाउने व्यवस्था थियो।
तर, २०८१ मा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०७६’ संशोधन भएसँगै आयोगको अधिकार अर्थमा सरेको छ। सोहीअनुसार फागुन १५ गते अर्थले सबै मन्त्रालय एवं निकायलाई आव २०८२/८३ को सिलिङ दिइसकेको छ।
यद्यपि, कुल बजेट सिलिङ भने योजना आयोगले तोक्ने व्यवस्था छ। सोहीअनुसार १९ खर्ब बढीको सिलिङ दिएको र त्यसैभित्र रहेर अर्थले अन्य निकायलाई सिलिङ पठाएको हो। तर, विकासे मन्त्रालय भने उचित तरिकाले सिलिङ प्राप्त नभएको गुनासो गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चुर्णराज ओलीले चालु आर्थिक वर्षको बजेटभन्दा समग्रमा मन्त्रालयको सिलिङ बढेर आएको बताउँछन्। तर, वैदेशिक सहायतातर्फ अनावश्यक सिलिङ प्राप्त भएको उनले बताए। ‘वैदेशिकतर्फ सम्झौता नभएका आयोजनामा सिलिङ छ, यता स्वदेशीमा चाहिनेभन्दा घटेको छ’ क्यापिटल नेपालसँग उनले भने, ‘समग्रमा बढेको जस्तो देखिए पनि चाहिने ठाउँमा घटाएर नचाहिने ठाउँमा बढाइएको छ।’
ऊर्जा मन्त्रालयमा चालु आवमा ४० अर्ब बजेट छ। आगामी आवका लागि १० अर्बले बढेर ५० अर्ब रुपैयाँ सिलिङ प्राप्त भएको हो। सम्झौता नगरिएका आयोजनाको लागि सिलिङ आएको र त्यसमा काम गर्न नसकिने जानकारी अर्थलाई गराएको सहसचिव ओली बताउँछन्। ‘हामीले रिपोर्टिङ गरिसकेको छौँ, यो विषयमा अर्थले पुनर्विचार गर्छ होला’ उनले भने।
आगामी आवका लागि ४ अर्ब बढी अर्थात् ३० अर्बको सिलिङ अर्थले पठाएको छ। तर, बढाएको बजेट वैदेशिकतर्फ रहेकाले त्यसमा मन्त्रालयले काम गर्न सक्ने अवस्था नभएको सहसचिव दवाडी बताउँछन्।
अनावश्यक बजेट सिलिङको समस्या खानेपानी मन्त्रालयमा पनि उस्तै रहेको सहसचिव रमाकान्त दवाडी बताउँछन्। खानेपानीमा सिलिङ बढेको छ। तर, खर्च गर्न सकिने स्वदेशी लगानीका आयोजनातर्फ रकम थोरै भएको उनले बताए। चालु आवमा खानेपानी मन्त्रालयको बजेट २६ अर्ब रुपैयाँ बढी छ।
आगामी आवका लागि ४ अर्ब बढी अर्थात् ३० अर्बको सिलिङ अर्थले पठाएको छ। तर, बढाएको बजेट वैदेशिकतर्फ रहेकाले त्यसमा मन्त्रालयले काम गर्न सक्ने अवस्था नभएको सहसचिव दवाडी बताउँछन्।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मातहतको आयोजनामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा काम गर्ने भने पनि हालसम्म सम्झौता नभएको उनको भनाइ छ। तर, अर्थले त्यही आयोजनाका लागि सिलिङ तोकेको छ।
काम गर्न नसकिने आयोजनामा सिलिङ पठाए पनि बजेट नराखी खाली पठाउने तयारीमा खानेपानी मन्त्रालय देखिन्छ। ‘सकेसम्म खर्च गर्न सकिने र आवश्यक भएको आन्तरिक स्रोतका आयोजनामा सिलिङ बढाउन भन्छौँ, भएन भने खर्च नहुने ठाउँ खाली जान्छ होला’ सहसचिव दवाडीले भने।
चालु आव १ खर्ब ५१ अर्ब रुपैयाँ बजेट भएको मन्त्रालयलाई १ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ अर्थले दिएको छ।
विकासे मन्त्रालयमा सबैभन्दा ठूलो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिलिङ घटेको छ। चालु आव १ खर्ब ५१ अर्ब रुपैयाँ बजेट भएको मन्त्रालयलाई १ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ अर्थले दिएको छ। उक्त सिलिङमा मन्त्रालय तथा विभागहरुले काम गरिहेको बताइएको छ।
त्यस्तै सहरी विकास मन्त्रालयकोे पनि सिलिङ घटेको मन्त्रालयका सहसचिव दिलिप भण्डारी बताउँछन्। चालु आव ६८ अर्ब बजेट भएको सहरीमा आगामी वर्षका लागि ५१ अर्ब रुपैयाँ मात्रै सिलिङ प्राप्त भएका हो। ‘पोहोर सुरुमा थोरै सिलिङ आएर पछि बढेको थियो, यो वर्ष के हुन्छ मैले जवाफ दिन सक्दिनँ,’ उनले भने।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्यामप्रसाद भण्डारी बजेट निर्माण अर्थ मन्त्री स्वयमले गरेको र अन्य छलफलमा पनि आफू सहभागी नभएकाले तयारी नभएका आयोजनामा किन सिलिङ पठाएको भन्ने जवाफ दिन नसक्ने बताउँछन्।
‘कति कुरा मलाई थाहा हुँदैन र मिडियाको कुरा सुनेर मात्रै मैले जवाफ दिन मिल्दैन,’ उनी भन्छन्, ‘विगतमा पनि रातो किताबमा भएका आयोजना अहिलेसम्म सुरु नभएको उदाहरण छन्, त्यसैले अर्थले सिलिङ दिएर समस्या आयो भनेर बुझ्न मिल्दैन।’
अर्थ मन्त्रालयले चैत १५ सम्म सिलिङअनुसार बजेट बनाएर पठाउन भनेको थियो। तर, विषयगत मन्त्रालयले हालसम्म बजेट बनाएका छैनन्। साथै यो वर्षबाट परियोजना बैंकमा परेका आयोजनामा मात्रै बजेट विनियोजन गर्ने र आयोजना छनोटमा कडाइ गर्ने अर्थ मन्त्रालयको तयारी छ।
सोहीअनुसार विकासे मन्त्रालयहरुले पनि ३ करोडभन्दा कम लागतका आयोजनालाई सिलिङमा समावेश नगर्ने तयारी गरेको बताएका छन्।