काठमाडौं। बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको १९ औँ अधिवेशनअन्तर्गत भएको मतदानमा उनले निकटतम प्रतिस्पर्धी उमाकान्त शर्मा (बाबु)लाई १२५ मतान्तरले पराजित गरेका हुन्।
शाक्यले ६४४ मत पाउँदा शर्माले ५१९ मत पाए। दुवै नेपाली कांग्रेसनिकट उम्मेदवार भए पनि शाक्यलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, समाजवादी्लगायत दलनिकट व्यवसायीले साथ दिएका थिए। शर्मालाई एमालेनिकट व्यवसायीको साथ थियो।
आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार खुला सदस्यतर्फ सर्वाधिक मत निवर्तमान महासचिव ऋषिराम गौतमले ल्याए। कुल एक हजार १७६ मत खसेकोमा गौतमले ८२२ मत प्राप्त गरे। शाक्य नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका गौतम लोकप्रिय मतसहित विजयी भए।
दोस्रो धेरै मत दीपक हमालले ल्याए। जसले ६९८ मत प्राप्त गरे। हमाल उमाकान्त शर्माको प्यानलका उम्मेदवार थिए। कूल १३ जना खुला सदस्यका लागि भएको चुनावमा ७ जना शाक्य प्यानलबाट र ६ जना शर्माको प्यानलबाट निर्वाचित भएका छन्।
शाक्य प्यानलबाट ऋषिराम गौतम, अर्जुनप्रसाद कँडेल, चन्द्र रेग्मी, मनिष राजभण्डारी, इन्द्रमणि पौडेल, नवीन कुमार श्रेष्ठ र अकिलबहादुर क्षेत्री निर्वाचित भएका थिए। यस्तै, शर्मा प्यानलबाट दीपक हमाल, बद्री ढुंगाना, राजु गौतम, सुदीप सागर कँडेल, श्रीजय श्रेष्ठ र उमेश केसी निर्वाचित भए।
संघको उद्योग सदस्यतर्फ रामप्रसाद शर्मा (शर्मा प्यानल) र चुडामणि सापकोटा (शाक्य प्यानल)बाट विजयी भए। महिला सदस्यतर्फ शर्मा प्यानलबाट सविता आचार्य र सिर्जना राजभण्डारी श्रेष्ठ विजयी हुँदा शाक्य प्यानलबाट कमला पराजुली विजयी भएकी थिइन्।
निर्वाचित १९ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित शाक्य प्यानलबाट १० जना र शर्मा प्यानलबाट ९ जना विजयी भए। विधानअनुसार अध्यक्षद्वारा मनोनीत सदस्य थपिएपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष चयन गरिने व्यवस्था छ।