काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन्। आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्वका मूर्तिहरु नेपाल फर्काएर पाटन संग्रालयष् र राष्ट्रिय संग्रालयलाई हस्तान्तर गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने,'हाम्रा सम्पदाहरु संसारको कुनै पनि कुनामा पुगोस्,नेपालीहरुले हाम्रा आफ्ना सम्पदाहरु चिन्छन्। त्यसको महत्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरुले योग्यता राख्दछन्। नेपालको सम्बन्ध विश्वव्यापी भएको छ। चोरीका मूर्तिहरु नेपाल फकिएँछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौं।'
उनले विगतमा नेपालका महत्वपूर्ण पुरातात्विक मूर्तिहरु कसरी विदेश पुगे भन्दै प्रश्न गरे। मन्त्री पाण्डेले शक्तिशाली रुपमा नेपालका मूर्तिहरु चोरी गरेर जहाजमार्फत ठूलो सेटिङमा विदेशमा पुगाउने दुस्साहस गरेको उल्लेख गर्दै गएका सम्पूर्ण मूर्तिहरु नेपाल फर्काइने विश्वास दिलाए। उनले जुन ठाउँबाट चोरी भएका हुन्। सोही ठाउँमा उक्त मूर्तिहरु प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे।
मन्त्रालय मातहतमा रहेको पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्त, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ। अमेरिका फान्स बेलायत, चीन,अष्ट्रिया, अष्ट्रिलियाजस्ता देशहरुबाट थप अरु मुर्तिहरु फिर्ताका लागि कुटनीतिक पहल भइरहेको बताएको छ। हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका प्रातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ।