काठमाडौं। भारतीय पर्यटकको बागमती प्रदेश प्रमुख रोजाइमा परेको छ। क्रसबोर्डर क्युआर पेमेन्टलाई हेर्दा भारतीय पर्यटकले सबैभन्दा बढी कारोबार बागमतीमा गरेको देखिएको हो।
भारतीय पर्यटकले सबैभन्दा कम कर्णाली प्रदेशमा क्यूआरमार्फत भुक्तानी गरेको देखिएको छ। भारतीयले नेपालमा फोनपे स्क्यान गरेको कुल क्यूआर कारोबारको ५० प्रतिशत बागमती प्रदेश, १४ प्रतिशत गण्डकी, १२ प्रतिशत सुदूरपश्चिम, १० प्रतिशत मधेस, ७ प्रतिशत लुम्बिनी, ६ प्रतिशत कोशी र १ प्रतिशत कर्णाली प्रदेशमा कारोबार भएको देखिएको हो।
गत वर्षको फागुन महिनादेखि सुरु भएको अन्तरदेशीय अनलाइन कारोबार (क्रस बोर्डर क्यूआर पेमेन्ट)ले नेपालको अर्थतन्त्र चालायमान बनाउन ठूलो मद्दत गरेको छ। एक वर्षको अवधिमा भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमा भुक्तानी गरेर करिब १ अर्ब भारतीय रुपैयाँ नेपाल भित्र्याएका हुन्।
नेपाल राष्ट्र बैंकको नीतिगत सहजीकरणमा नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको सम्झौता भएर एक वर्षअघि क्रस बोर्डर क्यूआर पेमेन्ट सुरु भएको थियो। फोनपेले नेपालमा भारतीय पर्यटकका आउँदा भारतीय विद्युतीय भुक्तानी नेटवर्क यूपीआईमार्फत् सुरु गरेको उक्त सेवामा भारतको युपिआइ नेटवर्कमार्फत् फोनपे, पे–टिएम र गुगलपे वालेटबाट नेपालको बैंकहरुको फोनपे स्क्यान गर्न मिल्ने व्यवस्था गरेको छ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतीय नागरिकले एक पटकमा १ लाख ६० हजारसम्म क्यूआर स्क्यान गरेर कारोबार गर्न सक्ने व्यवस्था गरेको छ। यही व्यवस्थामा रहेर नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले नेपालमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एक वर्षको अवधिमै ९९ करोड ६३ लाख ८५ हजार ७ सय ९९ भारतीय रुपैयाँ (आइएनआर) नेपाल भित्रिएको हो।
चालू वर्षको फागुन महिनासम्म नेपालमा क्यूआर पेमेन्ट करिब साढे ४ खर्ब रुपैयाँ बराबरको भएको छ। जसमा साढे १ अर्ब रुपैयाँ भारतीय पर्यटकले प्रयोग गर्ने क्यूआर स्क्यानमार्फत भएको हो।
एक वर्षको अवधि अर्थात् चालु वर्षको फागुनसम्म भारतको ग्राहकले एक वर्षमा ५६ लाख ६३ हजार ३ सय ६७ पटक क्यूआर स्क्यान गरेर १ अर्ब ५९ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार गरेको फोनपेले जनाकारी दिएको छ।
यसमा भारतीय ग्राहकले एक पटक क्यूआर स्क्यानमार्फत् औसत २ हजार ८ सय ३० रुपैयाँको कारोबार गरेको फोनपेका चिप अप्रेरेटिङ अफिसर (सिओओ) पारस कुँवरले क्यापिटल नेपाललाई जानकारी दिए।
एक वर्षको अवधिमा भारतीय पर्यटकले जति पनि क्यूआरमार्फत कारोबार गरे त्यसले फोनपेको व्यवसायलाई मात्रै फाइदा नभएर समग्र अर्थतन्त्रलाई फाइादा पुगेको कुँवर बताउँछन्।
रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतीय नागरिकले एक पटकमा २ लाख रुपैयाँसम्म क्यूआर स्क्यान गरेर कारोबार गर्न सक्ने व्यवस्था गरेको छ। यही व्यवस्थामा रहेर नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले नेपालमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एक वर्षको अवधिमै ९९ करोड ६३ लाख ८५ हजार ७ सय ९९ भारतीय रुपैयाँ (आइएनआर) नेपाल भित्रिएको हो।
‘यसले समग्र देशको अर्थतन्त्रलाई फाइदा भएको छ, सबैभन्दा बढी नेपालको साना व्यवसायीलाई फाइदा पुगेको छ। उनीहरुले पर्यटकहरुसँग पनि आफ्नो सामान बिक्री गर्न सकेका छन्,’ कम्पनीका सिओओ कुँवरले क्यापिटल नेपालसँग भने, ‘भारतीयले २० रुपैयाँसम्म क्यूआर गरेको भेटेका छौं, पर्यटकले चिया खाएर पनि युपीआईबाट भुक्तानी गरेको रहेछ। स–साना व्यवसायीले पनि विदेशीलाई आफ्नो सामान र सेवा बिक्री गर्न क्यूआर पेमेन्टले सहयोग गरेको छ।’
काठमाडौंको पशुपतिनाथदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म भारतीय पर्यटकले भेटी चडाउन पनि क्यूआर स्क्यान गरेका छन् भने फोनपेको क्यूआर राखेका स्टार होटल रिर्सोटदेखि साना चिया पसल, किराना पसलले पनि भारतीय पर्यटकहरुसँग कारोबार गर्न पाएका छन्।
भारतीय पर्यटकहरुले भ्रमणको टिकट बुकिङ, होटल बुकिङदेखि सडकको ठेला पसलमा चिया पिउँदा पनि क्यूआर स्क्यान गर्न थालेका छन्। यसले गर्दा पर्यटक भित्रिदा ठूला होटल व्यवसायलाई मात्र नभएर स–साना व्यापार व्यवसायले पनि फाइदा लिन सक्ने भएका छन्।
क्यूआर पेमेन्टको कारोबारले देशमा विदेशी मुद्रा भित्र्याउन ठूलो परिमाणमा योगदान गरेको उनको भनाइ छ। साथै, क्यूआर पेमेन्टको सहुलियतले पर्यटकहरुको खर्च गर्ने क्षमता नै ३ गुणाले बढेको उनको अनुमान छ।
भारतीय केन्द्रीय बैंकले विदेश भ्रमणमा जाँदा प्रतिव्यक्ति २५ हजार आइएनआरमात्रै लैजान पाउने प्रावधान गरेको छ। नेपालमा १ सय भारतीय रुपैयाँभन्दा ठूला दरको नोट चल्दैन तर, भारतमा ५ सय र २ हजार दरको नोट पनि चलन चल्तीमा रहेको छ।
भारतीय पर्यटक नेपाल आउँदा उनीहरुले २५ हजार नै भए पनि १ सय दरका नोट बोक्नु पर्ने बाध्याता थियो। अन्तरदेशीय क्यूआर भुक्तानीको व्यवस्थाले भारतीय पर्यटक नेपाल आउँदा १ सयदरका नोटको चाङ नै बोकेर आउनु पर्ने बाध्यता र नगद सुरक्षणको समस्या हटेको हो भने २५ हजारभन्दा बढी खर्च गर्ने समेत सहयोग पुगेको छ।
‘एक वर्षअघिसम्म नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले २५ हजार आइएनआरमात्रै खर्च ग¥थ्र्यो भने अहिले एक पटकमै औसत ३ हजार रुपैयाँ बरारबरको क्यूआर कारोबार गर्न थालेको तथ्यांकले देखाउँछ,’ उनले भने, ‘हिजोको दिनमा कार्डबाट वा नगदबाट भुक्तानी हुँदा भारतीय पर्यटकहरुको भ्रमण गन्तव्य समेत सीमित थियो तर, क्यूआरको भुक्तानीले भारतीय पर्यटकहरुले नेपालको ७७ वटै जिल्लालाई भ्रमण गन्तव्य बनाएको प्रष्ट भएको छ।’
भारतीय पर्यटकले ७७ वटै जिल्लामा फोनपे स्क्यान गरेर कारोबार गरेका छन्। उनीहरुले ६७ हजार ३ सय ३८ वटा मर्चेन्टमार्फत् फोनपे स्क्यान गरेका हुन्। भारतीयहरुले नेपालमा विभिन्न किराना र डिपामेन्र्ट–के.के मार्ट, बिगमार्ट, सेल्सवेरी) स्टोरहरु, भोजनालय तथा रेस्टुरेन्ट, साना होटल, लज तथा होस्टेल, रिसोर्ट/होटल (स्टार होटल, ठूला रिसोर्ट, होम स्टे), कपडा स्टोर, खाजा घर तथा बेकरी पसल, सुपरमार्केट, स्थानिय किराना पसल, फास्ट फुड तथा क्याफे र खुद्रा मदिरा पसलमा सबैभन्दा बढी क्यूआर स्क्यान गरेर कारोबार गरेका हुन्।
अहिलेसम्म भएको क्रस बोर्डर क्यूआर पेमेन्ट निजी क्षेत्रको पहलमा मात्रै भएको हुँदा सरकारी निकायको तर्फबाट पनि यसको प्रमोशनको लागि काम हुनु पर्ने सिओ कुँवर बताउँछन्।
‘अहिलेसम्म फोनपेले मात्रै यसको प्रमोसनको आवश्यक काम गरेका छौं, पर्यटन बोर्डले पनि नेपाल भ्रमणमा आउन चाहने भारतीय पर्यटक लक्षित गरेर भारतमै यसको प्रमोशन गर्नुपर्छ। बोर्डले पर्यटनलाई प्रमोशन गर्ने कार्यक्रमहरु गर्दा त्यसमा युपिआई भुक्तानीबारेमा पनि जानकारी दिँदा नेपाल भ्रमणमा आउन भारतीय नागरिक थप प्रोत्साहित हुन सक्छन्,’ उनले भने।
यसले गर्दा नेपालमा फोनपे प्रयोगकर्ता बैंकलाई समेत भारतीय बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकसँग दिने सेवा शुल्कले आम्दानी बढेको छ। साथै, पर्यटकको खर्च बढ्दा बैंकमा निक्षेप समेत बढेको छ।
विदेशी मुद्रा भित्र्याएर देशको अर्थतन्त्रमा सहजै योगदान गर्न सक्ने अन्तरदेशीय क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्न सरकार र सम्बन्धित निकायले समेत आफ्नोतर्फबाट पहल गर्नुपर्ने देखिन्छ।