काठमाडौं । ललिता निवासको जग्गा धितोमा ऋण दिने बैंकहरुको विस्तृत विवरण राष्ट्र बैंकले तयार पारेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न बैंकबाट ललिता निवासको जग्गा धितोमा राखेर २ अर्ब ६४ करोड रुपैयाँ ऋण लिएको विषयमा छानविन गर्न केन्द्रिय बैंकलाई पत्राचार गरेको थियो ।
१३ बाणिज्य बैंक र ३ विकास बैंकले ललिता निवासको जग्गा धितोमा लिएर २ अर्ब ५ करोड ५२ लाख ३२ हजार ६५२ रुपैयाँ ऋण दिएको र त्यसमा १ अर्ब ९ करोड ९६ लाख ५७ हजार ७८६ रुपैयाँ उठ्न बाँकी रहेको प्रतिवेदन राष्ट्र बैंकले तयार पारेको छ ।
यसमा कुमारी बैंकबाट ऋण लिने एसओएस म्यानपावरका हेमबहादुर गुरुङले १ करोड ६५ लाख बैंकलाई तिरिसकेका छन् । महालक्ष्मी विकास बैंकबाट ऋण लिएका नविन पौडेलले पनि ४९ लाख ९० हजार ऋण तिरिसकेका छन ।
सबैभन्दा बढि ऋण लिनेमा कन्टिनेन्ट ट्रेडिङ रहेको छ । यो बिजनेस गु्रपको तर्फबाट पुरुषोत्तम पौडेलको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब १७ करोड ८० लाख रुपैयाँ ऋण दिएको क्यापिटल नेपाललाई प्राप्त राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
यसले बाँकी ऋण तिरेर ४९ करोड ७७ लाख १० हजार तिर्न बाँकी रहेको छ । त्यस्तै सिभिल बैंकले मन्ती गोर्खालीको नाममा २९ करोड १ लाख ३२ हजार ७१७ रुपैयाँ दिएको छ । गोर्खालीले २२ करोड ३० लाख ५९ हजार ३८१ रुपैयाँ तिर्न बाँकी छ ।
त्यसै गरि हिमालय बैंकले संगीता कोठारीको नाममा १३ करोड रुपैयाँ ऋण दिएको छ । कोठारीले ९ करोड ६६ लाख ९४ हजार तिर्न बाँकी छ । प्रभु बैंकले भाटभटेनी सुपर स्टोर्सको नाममा १२ करोड दिएकोमा ५ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी छ ।
सिटिजन बैंकले नयन्द्र थापा, रामचन्द्र कार्की, बाबा देउजा र साहिल अग्रवालको नाममा ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ दिएको छ । यसमध्ये सिटिजनले ४ करोड १६ लाख ४९ हजार २ सय ५३ उठाउन बाँकी छ ।
त्यस्तै लक्ष्मी बैंकले भाटभटेनी सुपर स्टोर्सको नाममा ४ करोड ऋण दिएकोमा ६८ लाख ४९ हजार ४९३ उठाउन बाँकी रहेको छ । ग्लोबल आइएमई बैंकले उमाकुमारी ढकाल्नीलाई ३ करोड ७५ लाख ऋण दिएकोमा ३ लाख ७४ लाख २५ हजार २०२ उठाउन बाँकी रहेको जानकारी राष्ट्र बैंकलाई दिएको छ ।
प्राइम कमर्शियल बैंकले सोहितु नेपाललाई ४ करोड २ लाख ऋण दिएकोमा उनीबाट १ करोड ७८ लाख ६५ हजार ५७१ रुपैयाँ उठाउन बाँकी छ । त्यस्तै एनआईसी एशियाले अटो ट्रेडिङ्गलाई दिएको ४ करोड ५० लाख ऋणमध्ये ३ करोड ९५ लाख ९४ हजार रुपैयाँ उठाउन बाँकी छ ।
एनसीसी बैंकले जीवनकुमार प्रसाईं, नारायण पोखरेल, खिमानन्द भट्टराई, विष्णु केसी, आशा पौडेललाई ४ करोड ७२ लाख ५० हजार रुपैयाँ ऋण दिएको छ । बैंकले पाँच जनाबाट अझै ३ करोड ६७ लाख २६ हजार ३७३ रुपैयाँ उठाउन बाँकी छ ।
सरकारी बैंक नेपाल बैंकले भारती पाण्डेलाई २५ लाख ऋण दिएकोमा २० लाख ४७ हजार २४४ रुपैयाँ उठाउन बाँकी छ । त्यस्तै माछापुच्छ«े बैंकले विना तामाङ र कमला तामाङलाई २ करोड ७४ लाख ऋण दिएको छ । बैंकले २ जनाबाट २ करोड ५७ लाख ३६ हजार २३० रुपैयाँ उठाउन बाँकी छ ।
त्यस्तै कैलाश विकास बैंकले ओमविरमान ताम्राकारलाई ७५ लाख दिएकोमा ७५ लाख नै उठाउन बाँकी रहेको छ । महालक्ष्मी विकास बैंकमार्फत उमाकुमारी ढकाल्नीले दिएको ९२ लाखमा ९२ लाख नै उठाउन बाँकी छ । त्यसैगरि देव विकास बैंकले नूतन श्रेष्ठलाई दिएको ३ लाख १० हजार ९३५ रुपैयाँ ऋण दिएकोमा पुरै रकम उठाउन बाँकी छ ।
राष्ट्र बैंकले उठाउन पर्ने ऋण रकमका लागि ऋणीबाट छिटो रकम उठाउन र नयाँ धितो माग्न निर्देशनसमेत दिइसकेको छ । चैतभित्र बाँकी रकम नउठे प्रोभिजनिङ गर्नुपर्ने बैंकहरुलाई बाध्यता छ । ऋण नउठे खराब कर्जा बढेर बैंकको ब्यालेन्ससिटलाई नकारात्मक बनाउने छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले ललिता निवासको जग्गामा अहिले कुनै पनि ऋण कुनै पनि व्यक्ति र बिजनेस गु्रपको नाममा नरहेको बताए । ‘हामीबाट ललिता निवास जग्गामा कुनै पनि ऋण बाँकी छैन,’ उनले भने ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज्का अध्यक्ष सुह्ृद घिमिरेले आफ्नो ग्रुप ले ललिता निवासको जग्गा राखेर ऋण नलिएको बताए । राष्ट्र बैंकले बैंकहरुले दिएको तथ्याँक बास्तविक भए नभएको जाँच गर्ने २ जना सुपरिवेक्षकलाई सम्बन्धित बैंकमा पठाउने जनाएको छ ।
‘हामीमा आएको तथ्याँकमा केहि तलमाथी हुन सक्छ त्यसैले केन्द्रिय बैंकबाट सुपरिवेक्षण हुन्छ,’ स्रोतले क्यापिटल नेपाललाई बतायो ।