चैत १४ देखि ललितपुरको हेरिटेज गार्डेनमा महिला उद्यमी महासंघले आठौं संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सञ्चालन गरिरहेको छ। मेलामा ७२ वटै जिल्लाका महिला उद्यमीबाट उत्पादित वस्तुका बिक्री स्टल राखिएका छन्। मेलाले महिला उद्यमको पहिचान, स्वदेश/विदेश बजारीकरण, बजार प्रवर्द्धनमा सघाउने महिला उद्यमी महासंघ अध्यक्ष शोभ ज्ञवालीको बुझाइ छ। लामो समयदेखि महिला उद्यमीको परिचय बनाएकी ज्ञवाली महिला उद्यमी महासंघ, नेपाल (एफबिन)की अध्यक्ष हुन्। विशेषगरी मिडिया उद्यमीको परिचय बनाएकी शोभ ज्ञवालीसँग नेपालमा महिला उद्यमीको वर्तमान अवस्था, उद्यममा महिला आकर्षण, उद्यमले महिला जीवनमा पारेको प्रभाव, सरकारी नीति र महिला उद्यमीका अवसर तथा चुनौतीलगायत विषयमा कमला भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः
महिला उद्यमी महासंघको नेतृत्वमा रहेर धेरै क्षेत्रमा जोडिनुभएको छ। विगतको तुलनामा अहिले उद्यमप्रति महिला आकर्षण कस्तो पाउनुहुन्छ?
अहिले उद्यमप्रति महिला आकर्षण बढ्दै गएको छ। महिला उद्यमी अघि बढ्न धेरै चुनौती छन्। ती चुनौती सामना गर्दै धेरै महिला दिदीबहिनी अघि बढिरहेछन्। महिला उद्यमीलाई उद्यमशीलताको फाइदा र आर्थिक सशक्तीकरणको पाटोमा बलियो भए धेरै फाइदा हुन्छ भन्ने कुरामा उत्प्रेरित गरिरहेका छौं। उद्यम गर्न सबैभन्दा बलियो चीज भनेको वित्तीय पहुँच हो। साथै, उत्पादन भएको सामान बजारीकरण पनि हुनुपुर्यो। हिजोको दिनमा भन्दा आजको दिनमा उद्यमशीलताले फड्को मार्दै गएको छ। केही समयअघि लुम्बिनीमा प्रदेशस्तरीय लुम्बिनी र कर्णालीको ५ दिनको एउटा मेला सञ्चालन गरिएको थियो। त्यहाँ एक दिनमा करिब चार पाँच लाख हाराहारीमा बिक्री भयो। बजारीकरण ग¥यो भने राम्रो हुँदो रहेछ।


जुम्ला, हुम्ला, जाजरकोट, दाङ, दैलेखजस्ता विकट क्षेत्रमा पनि महिलाले सामान उत्पादन गरिरहेका छन्। ती उत्पादनलाई व्यावसायिक रुपमा मूल्य दिलाउन, बिक्री गर्न बिक्री कक्ष र व्यवसाय बढाउन फाइनान्सलगायतमा हामीले राज्यसँग वकालत गर्दै आएका छौं। विगत वर्षदेखि उद्यमप्रति महिला अझै आकर्षित भएका छन्।
उद्यमले महिला जीवनमा कस्तो किसिमको प्रभाव पारेको पाउनुहुन्छ? महिला उद्यमीको वर्तमान अवस्था कस्तो छ?
उद्यमले महिलामा सकारात्मक प्रभाव पारेको छ। महिलालाई उद्यममा अघि बढ्न धेरै चुनौती छन्। आर्थिक पाटोमा बलियो भए घरपरिवार र समाजमा केही राम्रो योगदान गर्न सक्छु भन्ने सकारात्मक सोच महिलामा आएको छ। महासंघले महिलालालाई अघि बढ्न धेरै सहयोग गरिरहेको छ। जुम्ला, जाजरकोटका सामानहरु अहिले अन्तर्राष्ट्रिय स्तरमा महासंघले प्रदर्शनीका लागि लगिरहेको छ। उद्यमीलाई काम गर्न विगतमा भन्दा सहज वातावरण बनेको छ।
गत डिसेम्बर १५ र १६ मा अष्ट्रेलियाको मेलबर्नमा ‘मेड इन नेपाल एक्पो’ आयोजना गरिएको थियो। उक्त एक्स्पोमा नेपालबाट खासगरी ह्यान्डिक्राफ्ट, थाकलका ब्याग, जुटका ब्याग, गेडागुडीलगायत नेपाली उत्पादन प्रदर्शनीमा राखियो। महासंघले नेपाल सिल्क, नेपाल पस्मिना, मानुषि र ह्यान्डीकाफ्टलाई प्रदर्शनीमा राखेको थियो। यहाँका महिलाले उत्पादन गरेका वस्तु देखाएपछि विदेशमा सकारात्मक सोच आएको पाइयो। नेपाली महिला उद्यमीले उत्पादन गरेका सामान पनि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदा रहेछन् भन्ने सोचले आर्थिक तथा सकारात्मक परिवर्तन देखिएका छन्। हामीले नेपाली उत्पादन बाहिरी मुलुकमा प्रदर्शनीमा लैजान सुरु गरेका छौं भने अबको ५–१० वर्षमा अझै धेरै उद्यमी सक्रिय रुपमा अन्तर्राष्ट्रिय व्यापारी बन्न सक्छन्।
उद्यम गर्ने सोचका साथ नयाँ/नयाँ आईडिया लिएर महिला आए पनि निरन्तरता दिन नसकेर केही वर्षमै बाहिरिने गरेको अवस्था छ। यो अवस्था सिर्जना हुनुको कारण के–के हुन्?
विगतमा महिला उद्यमीले सामान उत्पादन गर्ने तर बिक्री नहुने अवस्था थियो। बिक्री नभएपछि त्यसलाई निरन्तरता दिन नसक्ने हुँदा काम गर्न छाड्ने धेरै छन्। अर्काे भनेको वित्तीय पहुँच र सीप थिएन। यो सबै चीजले गर्दा बजार थिएन। त्यसकारण महिला उद्यमीलाई अप्ठेरो भइरहेको थियो। महिला दिदीबहिनीले सामान बनाए पनि हामी आफंै भने प्रयोग गर्दैनौं। मुख्य कुरा मार्केटिङ, वित्तीय पहुँच हुन्। यी सबैमा राम्रोसँग पहुँच पुगेको छैन। अघिल्लो वर्ष चितवन जाँदा थाहा पाएँ। त्यहाँका मेयर (रेणु दाहाल)लाई आफ्नो क्षेत्रमा महिला उद्यमी छन् भन्ने कुरा पनि थाहा रहेनछ। अफिसमै महिला उद्यमी सिर्जना गरेर उनीहरुलाई नै मेला गर्न लगाइएको थियो। यस्ता कुराले उद्यमी हराउने गरेका छन्। उद्यमीको पैसा उद्यमीलाई नै दिनुपुर्यो।
वर्तमान समय कस्ता उद्यमप्रति महिला उद्यमी बढी आकर्षित भएको पाउनुहुन्छ? दिगो उद्यममा लाग्न के–के कुरामा विचार पु¥याउनुपर्छ?
शिक्षित महिलाले डिजिटल प्लेटफर्म प्रयोग गरी अनलाइन व्यवसाय गरिरहेका छन्। महिला उद्यमीमा पनि काठमाडौं, विराटनगर, वीरगन्जजस्ता मुख्य सहरभन्दा बाहिरका उद्यमीलाई हेर्ने हो भने कृषि, ह्यान्डिकाफ्ट, टेक्सटाइलजस्ता अल्ला, ढाका, अचार बनाउने उद्यमी छन्।

गत वर्षदेखि पर्यटन क्षेत्रमा पनि होमस्टे सञ्चालन गर्ने महिला बढ्दै गएका छन्। कुनै पनि उद्यमीलाई दिगो रुपमा लैजान राज्यले वित्तीय पहुँच पुर्याउनु जरुरी छ। वित्तीय पहुँचमा आधार दरमा २ प्रतिशत थपेर १५ लाखसम्म पाउने ऋण सहज तरिकाले पाउने अवस्था बनाउन माग गरेका छौंं। राज्यले जुन खाले नीति ल्याएको छ, त्यसलाई सहजीकरण गरियो भने आफ्नै देशमा बसेर पनि काम गर्न सकिन्छ भन्ने आशा उद्यमीमा पलाउँछ। त्यसका लागि व्यवसायमा मिल्दो कानुन ल्याइनुपर्छ। तीनै तहका सरकारले उद्यमशीलतालाई आकर्षण गराएर उत्पादनलाई ‘फोकस’गरेर काम गरियो भने दिगो रुपमा उद्यममा लैजान सकिन्छ।
उद्यममा प्रवेश गर्नु र उत्पादन गर्नुभन्दा पनि आजका दिनमा बजारीकरण प्रमुख चुनौती देखिन्छ। यसमा कसरी सहयोगी भूमिका खेल्नुभएको छ? अबको बजारीकरण कस्तो मोडलमा जानुपर्छ?
सामान उत्पादन भएर किन्ने मान्छे भएनन् भने त्यसको केही मतलब भएन। बाहिरी मुलुकमा बस्ने महिलाले नेपाल आएर स्यानेटरी प्याड बनाइरहेका छन्। राज्यले सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने योजनाअन्तर्गत नेपालमा उत्पादित प्याड नकिनेर भारतबाट आयातीत प्याड किन्छन्। यसमा परिवर्तन जरुरी छ। मुख्य कुरा, व्यवसायलाई अगाडि बढाउन देशमा उत्पादित सामान सबैतिर किन्ने वातावरण बन्नुपर्छ÷बनाइनुपर्छ।
राज्यले हालसम्म जे–जस्ता छुट तथा सुविधा दिएको छ, त्यो सकारात्मक भए पनि पर्याप्त छैन। विभिन्न नाकाबाट भित्रिने चोरी निकासीका सामानमा कडाइ गरिए महिला उद्यमको उत्पादन र हामीलाई फाइदा पुग्छ। झापामा भारतका विभिन्न ठाउँ तथा काँकडभिट्टा नाकाबाट अवैध रुपमा भित्रिएका सामग्रीले बजार ढाकेको छ।
नेपालमै उत्पादित पस्मिना, कार्पेट, ह्यान्डिक्राफ्ट मेलबर्नमा लगेर पनि बेच्न पाइयो। त्यसकारण हामीले धेरैभन्दा धेरै मेला आयोजना गर्नुपर्छ। बजारीकरणका लागि अन्तर्राष्ट्रिय व्यापार मेलामा राज्यले सहभागी गराउनुपर्छ। यदि कसैले गर्छ भने त्यसलाई सहयोग गरेर जानुपर्छ। संसार अहिले डिजिटल प्लेटफर्ममा छ। हामीले डिजिटल बजारीकरणमा अगाडि बढ्नुपर्छ। व्यापार कसरी गर्ने, बजारीकरण कसरी गर्ने भन्ने कुरामा एकदमै फोकस गर्नुपर्नेछ।
डोल्पाली महिला दिदीबहिनीले उत्पादन गरेका सामान काठमाडौं ल्याउन ५० हजार खर्च लाग्छ। त्यो खर्च कसले तिर्छ? निजी क्षेत्रले पनि यो उत्पादन हुन्छ भनेर समर्थन गरिदिनुपर्छ। यसका लागि राज्यले महिला उद्यमीका उत्पादनका लागि बजारीकरणमा सघाउनुपर्छ।
सरकारले महिला उद्यमीलाई कर छुट र सहुलियत दिँदै आएको सहुलियत कति पर्याप्त छ?
सरकारले वित्तीय पहुँचमा छुट दिइरहेको छ। बैंकको आधार दर ब्याजमा २ प्रतिशत दिइएको छ। त्यस्तै, आधार दरमा २ प्रतिशत थपेर १५ लाख रुपैयाँसम्म दिन्छ। धितो राखेर अहिले महिलालाई उद्यमका लागि २५ लाख रुपैयाँसम्म आधार दरमा २ प्रतिशत थपेर ऋण दिन्छ। तर, हाम्रो विडम्बना के भने छोरी छन्, किन जग्गा दिने? भोलि बुहारी हुन्छिन्। किन जग्गा दिने भन्ने तगारो छ।
यो अवस्थाले महिलाको नाममा सम्पत्ति छैन। छुट दिइए छोरी र बुहारी दुवैको नाममा जग्गा हुन्छ। त्यसपछि हामीले धितो राखेर ऋण सुविधा लिन सक्छौं। यस्ता कुरा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जसरी सकिन्छ, त्यसरी मिलाउँदा राम्रो हुन्छ। व्यवसाय गर्न १५/२५ लाख छुट दिन्छ। अब महिलाले आफूलाई पनि सुधार्दै अघि बढ्नुपर्छ। हिजोका दिनमा महिला–महिला भन्ने गरिन्थ्यो। अब महिला पहिला गरेर अघि बढ्नुपर्छ। अहिले निर्माण, सेवालगायत धेरै व्यवसायमा महिला आएका छन्। त्यसकारण यसलाई अलि सहज बनाउनुपर्यो। सहज खाले नीति बनाए नहुने केही छैन।

राज्यले हालसम्म जे–जस्ता छुट तथा सुविधा दिएको छ, त्यो सकारात्मक भए पनि पर्याप्त छैन। विभिन्न नाकाबाट भित्रिने चोरी निकासीका सामानमा कडाइ गरिए महिला उद्यमको उत्पादन र हामीलाई फाइदा पुग्छ। झापामा भारतका विभिन्न ठाउँ तथा काँकडभिट्टा नाकाबाट अवैध रुपमा भित्रिएका सामग्रीले बजार ढाकेको छ। यसले हाम्रा उत्पादित सामग्रीभन्दा सस्तो पर्न गई नेपाली उत्पादन बिक्री नहुने समस्या छ। यो अवस्था अन्त्य गरेर नेपाली महिला उद्यमीकै सामग्री बिक्री हुने व्यवस्था गर्न सरकारी सहयोग अपरिहार्य छ।
तपाईंमाथि महिला उद्यमको विकास र विस्तारमा काम नगरेको, केही समय देखा पर्ने र फेरि हराउने गरेको जस्ता आरोप पनि लाग्ने गरेका छन्। यसप्रति तपाईंको धारणा के छ?
विभिन्न ठाउँका महिलालाई महासंघले सकेसम्म तालिम दिने, सीप सिकाउने गर्दै आएका छौं। मैले नेतृत्व सम्हाल्नुअघि ५८ जिल्लाका महिला महासंघमा आवद्ध थिए अहिले ७२ जिल्लाका महिला छन्। अहिले कुनै पनि सामान बिक्री गर्न सबैभन्दा ठूलो भूमिका मूल्यको हुन्छ। मेलामा पनि सामानको सोकेस कसरी गर्ने, लेबलिङ प्याकेज कस्तो हुनुपर्छ भन्ने कुरा हामीले सिकाइरहेका छौं। कोभिडसम्म जुममा बस्न आउँदैन थियो। डिजिटल प्लेटफर्म प्रयोग गर्न सिकाएर अहिले सबै जुम–मिटिङ बस्न सक्ने बनाएका छौं। अहिले महिला दिदीबहिनीले काम गरेका छन्। तर, आर्थिक परिवर्तन गर्न सकेका छैनन्। जता गए पनि महिलाले नै व्यवसाय गरिरहेका छन्। तर, उनीहरुले कमाउन सकिरहेका छैनन्। बजारमा लग्न सकेका छैनन्।
तपाईंको अनुमानमा हाल वार्षिक कति महिला उद्यम बजारमा प्रवेश गरेको पाउनुहुन्छ? प्रवेश गरेको कति प्रतिशतले उद्यमलाई निरन्तरता दिन सक्छन् र कतिले छाड्छन्?
धेरै क्षेत्रमा महिला आबद्ध भएर काम गरिरहेका छन्। त्यसकारण अरुको तथ्यांक भन्न अलि मुस्किल छ। महिला उद्यमी महासंघको कुरा गर्दा अहिले ७२ जिल्लाका महिला महासंघमा जोडिएका छन्। महासंघको मात्र कुरा गर्दा बर्सेनि ३० प्रतिशत महिला उद्यममा लागेका छन्।
कुनै महिला उद्यम गर्छु भनेर आउनुअघि के–कस्ता विषयमा विचार पु¥याउनुपर्छ? उद्यम गर्न चाहने महिलालाई तपाईंहरुले कसरी सहयोग गर्नुभएको छ र सुझाव के दिन चाहनुहुन्छ?
देशमा काम गर्न गाह्रो भए पनि हामीले गरेका कामलाई व्यवसायिकीकरणमा ढाल्ने र पहिचान बढाउने हो। आफू आर्थिक सशक्तीकरणको पाटोमा बलियो भए धेरै कुरामा अगाडि बढ्न सहज हुन्छ र यो उद्यम व्यवसायबाटै सम्भव छ। हामीले पहिला महिलालाई उद्यमशीलता के हो भन्ने सिकाउँछौं।
उनीहरुसँग भएको सीपलाई व्यवसायमा ढाल्न विभिन्न तालिम दिन्छाैं। वस्तु उत्पादन गरेर त्यसको लेबलिङ, प्याकेजिङलगायत महिलामा भएको सीपलाई प्रयोग गरेर वस्तुको बजारीकरण कसरी गर्ने भन्ने कुराको ज्ञान दिन्छौं। यसका साथै महासंघले वर्षमा एक पटक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्छ। हामीसँग आवद्ध च्याप्टर, इकाई र उद्यमीहरूलाई मेलामा आएर स्टल राखेर व्यवसाय गर भन्छौं। यहाँ आएका उद्यमी, जो वस्तुको लेबलिङ र प्याकेजिङ गर्न जान्दैनन्, तिनलाई तालिम दिन्छाैं।
तपाईंहरुले मेला गरिरहनुभएको ठाउँ हेरिटेज गार्डेन महँगो क्षेत्र भयो। यो ठाउँलाई परिवर्तन गरेर मेला गरेको भए अझ धेरै मानिस सहभागी हुन्थे होला नि?
मेला भनेको व्यवसायलाई बढाउने हो। समाजमा महिला भन्नेबित्तिकै घरेलु तथा सानो व्यवसाय भन्ने हुन्छ। कहिलेकाहीँ व्यवसाय गर्दै गर्दा आफूलाई स्मार्ट पनि राख्नुपर्छ। पाँच दिनसम्म दिदीबहिनीलाई व्यवसाय गर्न सजिलो होस् भनेरै हेरिटेजमा गरेको हो। महिलाले उत्पादन गरेका सामान तथा व्यवसायलाई सानो नसोच्नू भनेरै हो। हामीले फाइभ स्टारमा गरेको होइन, पार्टी प्यालेसमा हो, जहाँ राम्रो सुरक्षा छ। भृकुटीमण्डपमा गर्दा किन्ने मान्छेभन्दा पनि हेर्ने मान्छे मात्र आए। हामी व्यावसायिक महिला हो, तिनका उत्पादनलाई बढावा दिनुपर्यो। व्यवसायको सपना सफल बनाएर देखाउनुपर्यो। मेला महँगो/सस्तो ठाउँभन्दा पनि उत्पादनको बजारीकरण महत्त्वपूर्ण हो।