गलकोट। बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ।
कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ। पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचार–प्रसारलगायतका काम अघि बढाइएको छ।
जगत्गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाका अनुसार, कुवेरले साधना गरेको मालिका मन्दिर क्षेत्र र कुवेरलाई धनकुवेरको नामकरण गरी धनको संरक्षणस्थलका रूपमा रहेको पञ्चासेमा कुवेरको ५४ फिट अग्लो मूर्तिसहित अन्य पूर्वाधार निर्माण गर्न योजना बनाइएको छ। धार्मिक हिसाबले अत्यन्तै महत्व बोकेको कुवेरधाममा ५४ फिट अग्लो कुवेरको मूर्ति निर्माण गर्ने लक्ष्यका साथ बागलुङ नगरपालिकाको सहयोगमा डिपिआर ९विस्तृत आयोजना प्रतिवेदन० समेत बनाइएको छ।
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको १० लाखबाट कुवेरधाममा मन्दिरलगायत संरचना बनाउन थालिएको र कुवेरको मूर्ति, सिसमहल, जनकल्याण भवनलगायत धार्मिक संचना बनाउनका लागि नौ करोड ६४ लाखको डिपिआर तयार पारिएको हो। बागलुङ नगरपालिकाले तीन लाख खर्चेर पूर्वाधार निर्माणका लागि आवश्यक डिपिआर तयार पारेर हस्तान्तरण गरेको उपप्रमुख राजु खड्काले जानकारी दिए।
्म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ स्थित पौलस्य पुलहआश्रममा जन्मेर बागलुङको मालिकामा साधन गर्नुभएको स्थानमा कुवेर शिला, मन्दिरलगायत स्थल थिए। धार्मिक ग्रन्धमा कुवेरले साधना गरेको स्थान तथा धनकुवेर नामकरण गरेको पञ्चासे रहेको र त्यो कुरा त्यहाँ भएको मन्दिर तथा पौराणिक वस्तुले प्रमाणित गर्ने हिमालयन बाबाको भनाइ छ।
पञ्चासेमा प्राचीन कुवेरधाम शिला र मन्दिर थियो। उक्त मन्दिरको अहिले जीर्णोद्वार भइरहेको छ। पाँच रोपनीमा कुवेरधामको संरचना बनाएर धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको र बागलुङ नगरपालिकाले डिपिआर बनाउन सघाएको उपप्रमुख खड्काले बताए।
पछिल्लो तीन वर्षयता कुवेरधाममा धार्मिक संरचना निर्माणले तीव्रता पाएको छ। उपप्रमुख खड्काका अनुसार दाताको सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ। कुवेरधाममा पुग्ने सडक स्तरोन्नति, कुटी निर्माण, आश्रयस्थल, शौचालय, पदमार्गलगायत संरचना पनि बनिरहेका छन्।