काठमाडौं। म्यान्माको सागिङ सहरमा केन्द्रबिन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको छ। भूकम्पमा परेर मृत्यु हुनेको संख्या १० पुग्ने अनुमान सरकारी अधिकारीले गरेका छन्।
मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको परकम्प आएको थियो। भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसका घरमा क्षति पुगेको थियो।
म्यान्मामा कम्तीमा १ हजार दुई जनाको मृत्यु भएको र करिब २ हजार ४०० जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ। उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ।
भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरेको छैन भने मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ। विमानस्थल तथा सडक बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ।
भूकम्प प्रभावित म्यान्मामा भारतीय सहायता पठाइयो
भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले शनिबार बताएका छन्।
म्यान्मामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्याएपछि म्यान्माको सैनिक नेतृत्वप्रति वफादार सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको थियो।
म्यान्माको जुन्टा प्रमुख मिन आङ ह्लाइङले अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपिल जारी गरेका थिए। यसले अहिलेसम्म कम्तीमा एक हजार जनाको मृत्यु भएको र एक हजार ६७० जना घाइते भएको सरकारद्वारा पुष्टि गरिएकोे विपत्तिको गम्भीरतालाई संकेत गरेको छ।
विगतका सैन्य सरकार ठूला प्राकृतिक विपत्तिमा पनि विदेशी सहायता झट्ट स्वीकार नगर्ने गरेपनि शुक्रबारको भूकम्पपछि तत्काल अन्तर्राष्ट्रिय सहायताका लागि असाधारण दुर्लभ अपिल जारी गर्नुले म्यान्मामा व्यापक मानवीय तथा भौतिक संरचनाको क्षति भएको अनुमान गर्न सकिन्छ।
भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्यान्नका प्याकेट र अन्य आवश्यक सामग्री लिएर पठाइएको जानकारी दिए।
मन्त्रीले सामाजिक सञ्जालमा भारतको राष्ट्रिय विपद् प्रतिकार्य निकायका सदस्यले विमानमा सामान लोड गरिरहेको तस्बिर साझा गरेका छन्। शुक्रबारको भूकम्पले म्यान्माको दोस्रो ठूलो शहर मान्डालेमा भवन, पुल र सडकहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी भूगर्भविद्का अनुसार म्यानमामा गएको यो एक शताब्दीयताकै सबैभन्दा ठूलो भूकम्प हो। भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको थाइल्यान्डको बैंककमा रहेका भवनमा ठूलो क्षति पुगेको छ।–एजेन्सी