काठमाडौं। सरकारले राजतन्त्र पुनःस्थापनाको मागसहित शुक्रबार काठमाडौंको तीनकुनेमा विध्वंश मच्याउन निर्देशन दिएको दाबीसहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिँदै आएका सेवा–सुविधा र राहदानीसमेत जफत गर्ने प्रक्रिया अगाडि बढाएको छ।
पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिसमेत गठन गरेर लोकतान्त्रिक व्यवस्थामाथि चुनौती दिएको निष्कर्षपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा–सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको हो।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको विध्वंशमा परेर दुई जनाको मृत्यु, सुरक्षाकर्मी र आन्दोलनकारीसहित १०५ घाइते भए्का छन् भने १४ स्थानमा राजावादीले आगलागी गरेका छन्। सरकारले समिति गठन गरेरै शुक्रबारको हिंसा छानबिन गर्नेछ।
‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको र छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालय स्रोतले बताएको छ।
शुक्रबार रातीको मन्त्रिपरिषद् बैठकले हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल गरेको थियो भने त्यसमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताएको छ।
त्यसका लागि आज बिहान गृहमन्त्री रमेश लेखकले हिंसामा परेको तीनकुने क्षेत्रको अवलोकन भ्रमण गरेका छन् भने प्रहरीलाई प्रमाण संकलन थाल्न निर्देशन दिएका छन्।
राजावादी हिंसालाई मलजल गर्न भूमिका खेल्ने पूर्वराजा ज्ञानेन्द्र, प्रसाईं, रवीन्द्र मिश्रहरुलाई कानुनी दायरामा ल्याइने सरकारले जनाउ दिइसकेको छ। पक्राउ परेकामाथि व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन गृहमन्त्रीलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्रीले भनेका थिए, ‘ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका छन्। अर्बौंको निजी सम्पत्ति नष्ट भएको छ।’
शुक्रबारको हत्या, आगजनी र लुटपाटको फिल्ड कमान्डर प्रसाईं भए पनि बिहीबार निर्मल निवास बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति पूर्वराजा ज्ञानेन्द्र नै भएको सरकारको दाबी छ।
राजा ल्याउने अभियानका कमान्डर प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेको र सुरक्षाकर्मीलाई मिच्ने गरी उत्रिएपछि भीड उत्तेजित भएर ढुंगामुढा गर्न थालेको सरकारी निष्कर्ष छ।