काठमाडौं। जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि बारम्बार चुनौती दिँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ। यस्तो राजतन्त्र पुनःस्थापनाका लागि शुक्रबार मच्चाइएको विध्वंसपछि नागरिक स्तरबाट समेत पूर्वराजा शाहलाई पक्राउ गरेर कारबाही दायरामा ल्याउन माग गरिएको हो।
राजनीतिक दलहरुको कुशासनलाई आधार बनाएर व्यवस्थामाथि नै औंलो ठड्याउँदै आएका पूर्वराजा ज्ञानेन्द्रको हर्कतमाथि अंकुश लगाउन तीन राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुन थालेको बताइएको छ।
पूूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा राजसंस्था पुनस्र्थापनासहितको माग लिएर शुक्रबार काठमाडौंको तीनकुनेमा मच्चाइएको हिंसापछि तीन राजनीतिक दलका नेताहरुले राजावादीलाई तह लगाउने उपायमाथि छलफल गर्न लागेको स्रोतको दाबी छ।
यसका लागि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष थप छलफल गरेर अगाडि बढ्ने योजनामा छन्।
‘व्यवस्थालाई चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ। यस विषयमा ओलीले देउवासँग छलफल गरिसक्नुभएको छ। दाहालसँग पनि छलफल गरेर लोकतन्त्र बचाउन पूर्वराजालाई पनि पक्राउ गर्न सकिन्छ,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा आयोजित युवा संघको कार्यक्रममा समेत पूर्वराजा ज्ञानेन्द्रलाई व्यवस्थाविरोधी गतिविधिमा नलाग्न र लागेको पाइए कारबाही गर्ने चेतावनी दिइसकेका छन्।
प्रधानमन्त्री ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पूर्वराजाबाट व्यवस्थालाई चुनौती दिने काम बढ्दै गए गिरफ्तारसम्म गर्न सकिने जानकारी गराएका थिए।
हुलाकी राजमार्ग केन्द्रित अभियानमा रहेका दाहालले पनि पटक–पटक र शुक्रबारको समाजवादी मोर्चाको आमसभामा पनि पूर्वराजा ज्ञानेन्द्रलाई सच्चिन चेतावनी दिइसकेका छन्। कांग्रेस सभापति देउवाले आइतबार आयोजित कार्यक्रममा पूर्वराजा फर्किन नसक्ने दाबी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गरेका छन्।
यसाे भन्छ- राजावादी विज्ञप्ति

राजतन्त्र पुनःस्थापनासहित शुक्रबार काठमाडौंको तीनकुनेमा अराजकता मच्चाएको राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले पक्राउ वा नजरबन्द गर्न खोजेको विज्ञप्ति निकालेको छ।
आज ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले निकालेको विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्रसमेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका हुन्।
तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई नजरबन्द वा पक्राउ गर्ने तयारी भइरहेको समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका छन्। त्यसो भए देशभरबाट आमनागरिक स्वतःस्फूर्त विरोधमा उत्रिने चेतावनी उनले दिएका छन्। सुवेदीले शुक्रबारको घटना आफूहरुले नभई सरकारले गराएको दाबी गरेका छन्।
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलगायतलाई पक्राउ पुर्जी जारी गर्ने, जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवलशमशेर राणा तथा प्रवक्ता स्वागत नेपाललगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राखिएको भन्दै विरोध जनाएका छन्।
जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इशारामा नचल्ने र जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्ने दाबी गरेका छन्।
यता, प्रहरीले शुक्रबारको घटना राजनीतिक प्रकृतिको हिंसा भएकाले पक्राउ परेकालाई मुद्दा चलाउनबारे सरकारी वकिल र महान्यायाधीवक्ताको कार्यालयसँग समन्वय गरेर निर्णय लिइने बताएको छ।
प्रहरीले थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्नेछ। शनिबार अदालत बन्द हुने भएकाले पक्राउ परेकालाई आइतबार अदालत उपस्थित गराइनेछ। प्रहरीले उनीहरूलाई २५ दिनमसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।