काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा शुक्रबार राजावादीले मच्चाएको हिंसामा परेर मानवीय तथा अर्बाैं रुपैयाँको भौतिक क्षति भएको छ प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटना विवरण सार्वजनिक गरेको हो।
पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडेर निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनकुने घटनामा परेर कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको छ। तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन्।
यसैगरी ९ वटा सरकारी सवारी साधन, ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ। विभिन्न १४ स्थानमा आगजनी भएको, ९ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
प्रहरीले गैरकानुनी गतिविधिमा संलग्नमध्ये राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धबलशमशेर राणालगायतलाई पक्राउ गरेको छ।