काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन्।
उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेका छन्।
“समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो”, उनले भने, “काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ।”
आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ।
आयोगले झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएको बताएको छ। प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ।