काठमाडौं। राजतन्त्र पुनः स्थापनाको माग गर्दै राजावादी समूहले गरेको तीनकुने आन्दोलन हिंसात्मक हुँदा करोडौं रुपैयाँको क्षति भएको छ। खासगरी तीनकुने क्षेत्रमा राजावादी आन्दोलनकारी हिंसामै उत्रिएपछि निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्दा करोडौं रुपैयाँको क्षति भएको हो।

विभिन्न व्यक्तिका घर, कार्यालय, सरकारी अफिसमा भएको क्षतिबारे हालसम्म यकिन विवरण आइनसके पनि तोडफोड र आगजनीले करोडौं रुपैयाँको क्षति भएको सहजै अनुमान गर्न सकिन्छ।
व्यक्तिको घरमा तोडफोडसँगै आगो लगाइयो

अराजक समूहले तीनकुनेस्थित एउटा घरमा तोडफोडसँगै आगो लगाइदिएको छ। प्रहरी लुकेर बसेको आशंका गर्दै घरमा ढुंगामुढासँगै आगो लगाइएको हो।

यस्तै आसपासमा रहेका रेस्टुरेन्ट, सवारी साधनमा समेत अराजक समूहले तोडफोड गरेको छ। आन्दोलनको कारण कति सम्पत्ति तोडफोड भयो भन्ने यकिन जानकारी आइसकेको छैन।
समाजवादी पार्टीको कार्यालयमा तोडफोड र आगलागी
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयमा समेत राजावादी समूहले तोडफोड गर्दै आगो लगाएको छ। कार्यालयभित्र रहेका सबै सामान निकालेर सडकमा जलाएर अन्तिममा घरभित्रै आगो लगाएर आन्दोलनकारी बाहिरिएका थिए। पछि प्रहरी पुगेर आगो नियन्त्रणमा लिएका थिए।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी

अराजक समूहले जडीबुटीमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाएको छ। आगोलागीको कारण कति क्षति भयो भन्ने विवरण सार्वजनिक भएको छैन। राजावादीले कम्पनीमा आगलागी गरेसँगै कर्मचारीले हाम फालेर ज्यान जोगाएका छन्।
अन्नपूर्णको अफिसमा आगो, कान्तिपुरमा तोडफोड
अराजक समूहले अन्नपूर्ण पोष्टको कर्पोरेट अफिसमा तोडफोडपछि आगो लगाएको छ। ढुंगामुढाको कारण सिसाहरु फुटेको छ भने केही भाग जलेको छ। यस्तै, कान्तिपुर टेलिभिजनको कार्यालयमा समेत तोडफोड गरिएको छ।
भाटभटेनीमा तोडफोडसँगै सामान लुटपाट

आन्दोलनकारीले कोटेश्वरमा सञ्चालित भाटभटेनी सुपरमार्केटमा तोडफोडसँगै सामान लुटपाट गरेको छ। सुरक्षाकर्मी नभएको मौका छोपेर राजावादी समूह भाटभटेनीभित्र प्रवेश गरी अन्धाधुन्ध सामान बोक्दै र फ्याँक्दै बाहिर निस्किएको थियो।


निजी सवारी साधन र ट्याक्सीमा आगलागी

आन्दोलनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सांसद सन्तोष परियारको गाडी जलाएका छन्। यस्तै ट्याक्सी, स्कुटरमा समेत तोडफोड गरेका छन्।
निजी क्षेत्र मौन, केही राजावादीकाे पक्षमा
राजावादीले तोडफोड र अराजकता मच्चाउँदा समेत निजी क्षेत्रको छाता संगठन हालसम्म मौन छ। नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले निजी सम्पत्तिमाथि गरेको तोडफोडप्रति भत्र्सना गरेका छैनन्।
यद्यपि, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, पूर्वउपाध्यक्ष किशोर प्रधान, भाष्करराज कर्णिकारसहितका नेता राजावादी आन्दोलनको पक्षमा उभिएका छन्।