काठमाडौं। राजतन्त्र पुनःस्थापनाको माग लिएर तीनकुनेमा भेला भएका राजावादी मण्डले समूहको हिंसात्मक गतिविधिका कारण आज सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् भने एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको हो।
राजावादीको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए।प्रदर्शनमा घाइते उनलाई तत्काल टिचिङ अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो।
घाँटीमा गोली लागेका घाइतेको उपचारका क्रममा मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्य बताए।
राजावादीहरु हिंसात्मक बनेपछि काठमाडौं प्रशासनलाई तीनकुनेलाई चार किल्ला कायम गरेर कफ्र्यु आदेश जारी गरेको छ।
राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ। लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो। अहिले नेपाली सेना तीनकुने, जडीबुटी क्षेत्रमा तैनाथ भएको हो।
बख्तरबन्द गाडीसहित सेना सडकमा तैनाथ भएको छ।
निजी घर, सञ्चार गृह, सरकारी भवन र सवारी साधनलाई समेत निशाना बनाएका राजावादीले कोटेश्वरमा रहेको भाटभटेनीमा लुटपाट मच्चाएका छन्। त्यहाँ रहेका सुरक्षा गार्डलाई हातपात गर्दै भित्र पसेका प्रदर्शनकारीले भुइँतलाबाट सामग्री लुटेको भाटभटेनीले जनाएको छ।
केही प्रदर्शनकारीले हातमा बियरका सिसी बोकेर हिँडिरहेको तस्बिर अहिले सामाजिक सन्जालमा भाइरल भएको छ।
राजावादीले कोटेश्वरको जडीबुटी कारखानामा आगो लगाएका छन् भने सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलेका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।
पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्। बालकुमारी पारिपट्टि पनि सवारी साधन जलाएका छन्।
राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासनले तीनकुने र आसपासका क्षेत्रमा ४ः२५ देखि राती १० बजेसम्म कफ्र्य आदेश जारी गरेको छ।