काठमाडौं। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा आयोजना गरेको पहिलो वाडा शोमा गाडी खरिदकर्तालाई छुटैछुटको वहार अफर दिइएको छ।
बिहीबारदेखि सुरु वाडा अटो शो अवधिभर गाडी खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न ब्रान्डले बम्पर अफर सार्वजनिक गरेका हुन्। वाडा अटो शोमा प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डमध्ये ६ ब्रान्डका गाडीले अटो मेलाभरि गाडी खरिदकर्तालाई विभिन्न खाले अफर सार्वजनिक गरेका छन्।
नाडा प्रिजेन्ट्स ‘वाडा अटो शो २०२५’ मा दुईपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिज तथा वित्तीय संस्थाले स्टल राखेका छन्। अटो शोमा सातवटा दुईपांग्रे, १९ चारपांग्रे ब्रान्ड, ६ ईभी लाइट कमर्सियल सवारी, ३ बैंक, बिमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी सहभागी छन्।
प्रदर्शनीमा सहभागिता जनाएका चारपांग्रे ब्रान्डमा बिवाईडी, निसान, ओमोडा एन्ड जेक्को, जिकर, एलईभी ०१, लिपममोटर र सिट्रोन ब्रान्डका गाडी खरिदका लागि कम्पनीले ग्राहक लक्षित अफर सार्वजनिक गरेका छन्।
गत महिना राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरेको छ।
राष्ट्र बैंकको यो नीतिसँगै विगतमा २० प्रतिशत डाउन पेमेन्ट गरी खरिद गर्न सकिने विद्युतीय सवारी साधान(ईभी) अब भने ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने छ। सवारी खरिदमा डाउन पेमेन्ट बढेसँगै सवारी खरिद गर्ने ग्राहक समस्यामा परेको गुनासो आइरहेकाले कम्पनीले ग्राहक लक्षित गरी २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अफर सार्वजनिक गरेका छन्।
नेपाली बजारमा उपलब्ध बिवाईडीका लागि विशेष अफर कम्पनीले ल्याएको छ। नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २० प्रतिशत डाउन पेमेन्टमा बिवाईडी गाडी खरिद गर्न सकिने जनाएको छ।
वाडा अटो शो अवधिभरका लागि २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्री इन्स्योरेन्स,१ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्री एसेसरिजर फ्री होम चार्जरलगायत सुविधा दिएको कम्पनीले जनाएको छ।
नेपालका लागि निसान, ओमोडा एन्ड जेईको र जिकर गाडीको आधिकारिक डिलर एलिट मोटर्स हो। कम्पनीले सीमित अवधिका लागि ओमोडा एन्ड जेईको गाडी ५५ लाख ९९ हजारको सुरुआती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्ने जनाएको छ।
यसमा ५ लाख १५ हजार बराबरको छुट ग्राहकले लिन सक्नेछन्। यी लाभमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमाका साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको उत्कृष्ट वारेन्टी समावेश गरिएको छ। त्यसैगरी, ग्राहकले निःशुल्क ७ किलोवाट चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि छुट पाउनेछन्।
जिकर ब्रान्डका गाडी खरिद गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालू आर्थिक वर्षका लागि निःशुल्क सडक कर छुट पाउनेछन्।
वाडा अटो शो अवधिमा निसान म्याग्नाइट २६ हजार मासिक किस्तामा पाइनेछ। शारडा ग्रुपले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट गत फाुगन ९ गते नेपाली बजारमा सार्वजनिक गरेको थियो। कम्पनीले वाडा अटो शोमा प्रदर्शनीमा राखिएको म्याग्नाइटको सुरुआती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ कायम गरेको छ।
यसमा २६ हजार ३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधा दिइएको छ। साथै, ग्राहकले एक वर्षको बिमा, चालू आवका लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टी सुविधा प्राप्त गर्नेछन्।
वाडा अटो शोमा लिपमोटर सी–१० ६७ लाख ९९ हजार रुपैयाँमा बुक गर्न सकिने कम्पनीले जनाएको छ। वाडा शो अवधिभर लिपमोट सी–१० २० प्रतिशत डाउन पेमेन्ट गरी खरिद गर्न सकिनेछ। यसमा निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर छुट पाइनेछ।
नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले वाडा अटो शोमा एलईभी ०१ खरिद गर्ने ग्राहकले तीन लाखसम्म छुट पाउने जनाएको छ। हालै नेपाल भित्रिएको एलईभी ०१ स्टार्डड भेरियन्टको मूल्य ६१ लाख ९५ हजार र कम्र्फट भेरियन्टको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ पर्छ।