काठमाडौं। थाइल्यान्ड र म्यान्मामा गएको शक्तिशाली भूकम्पले भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
मध्य म्यान्मामा थएको शक्तिशाली भूकम्पले म्यान्माको राजधानी न्यापिडोका सडक ध्वस्त पारेको, भवनमा क्षति पुगेको छ भने थाइल्यान्डका मानिस सडकमा निस्किएका छन्।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
एएफपीा अनुसार २० लेन चौडा राजमार्ग भएको फराकिलो म्यान्माको राजधानी न्यापिडोमा भवनका छतसँगै सडकसमेत भत्किएका छन्।भूकम्प आएर हल्लाउन थाल्दा एएफपी पत्रकारहरूको एउटा टोली न्यापिडोको राष्ट्रिय संग्र्रहालयमा थियो।
बर्दीधारी कर्मचारी बाहिर दौडिँदा घरको छत र भित्ताबाट टुक्रा खसेका थिए। तीमध्ये कोही काँपेका र आँसुले भरिएका थिए भने अरूले परिवारलाई सम्पर्क गर्ने प्रयास गर्न सेलफोन समातेका थिए ।आधा मिनेटसम्म गएको भूकम्पमा परेर भएको मानवीय क्षतिबारे हालसम्म कुनै जानकारी आइसकेको छैन।
यस्तै, भूकम्पले बैंककका भवनमा क्षति पुगेको भने केही मेट्रो र लाइट रेल सेवा निलम्बित गरिएको छ। थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार दक्षिणी फुकेट टापुमा आधिकारिक भ्रमणलाई बीचमै रोकेर भूकम्पपछि ‘आकस्मिक बैठक’ गरेको बताइन्।
बेइजिङको भूकम्प एजेन्सीका अनुसार कम्पन चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा पनि महसुस गरिएको छ। एजेन्सीले ७.९ म्याग्निच्युडको कम्पन मापन गरेको छ।
विशेषज्ञका अनुसार म्यान्मारका सहरमा तीव्र विकास, पुरानो पूर्वाधार र कमजोर सहरी योजनाले लोकप्रिय क्षेत्रलाई भूकम्प र अन्य विपत्तिप्रति असुरक्षित बनाएको छ।–एजेन्सी