काठमाडौं। ग्रामीण भेगमा छरिएर रहेको महिला उद्यमीलाई एकीकृत गरी विश्व बजारमा चिनाउने उद्देश्यका साथ काठमाडौंमा ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सुरु भएको छ।
ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको मुख्य उद्येश्य उद्यमी महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको प्रर्वद्धन र बजारीकरण रहेको जनाएको छ।
सातौं सफलतापछि आठौं संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा दुर्गम क्षेत्रका महिला उद्यमीबाट उत्पादित विभिन्न व्यवसायका स्टल सहभागिताले छुट्टै आकर्षणको झल्को दिएको छ।
मेलामा ७२ जिल्लाका महिला उद्यमीहरु उपस्थित भएका छन्। जसमा उपस्थित भएका महिला उद्यमीको सहभागिताले पिछडिएका जिल्लाका महिला पनि अघि बढ्दै आएका छन् भन्ने झल्किएको छ।
मेलामा १४४ वटा स्टलमा सामानहरु प्रदर्शनी गरिएको छ। जसमा फरक–फरक खालका वस्तु राखिएको छ। महिलाको मेलामा हस्तकला, कपडा, कृषि उत्पादन, गृहसज्जा सामग्री, परिकार राखिएको छ।

मेलामा ३५ देखि ५० वर्षबीचका महिला उद्यमीहरुको सहभागीता रहेको छ। टाढाटाढादेखि मेलामा उपस्थित भएका महिलाहरुको सहभागीताले नेपालका महिलाहरु पनि अघि बढी रहेका छन् भन्ने प्रमाणको रुपमा मेलामा उपस्थित भएका महिलाहरुले देखिएको छ।
मेलामा अछाम महिला उद्यमी संघबाट ल्याएका सामानहरुमा सबैको आकर्षण देखिएको छ। उनीहरुले उत्पादन गरेको प्रदर्शनीमा विभिन्न अर्गानीक सामानहरु राखिएको छ। सिस्नुको पाउडर, पाँच अन्न मिसाएर बनाएको सातु, सर्वाेत्तम पिठो, अर्गानिक टिमुर जुन जंगलमा पाउने, कोदोको पिठो, मकैको पिठो, ढिकिमा कुटेको चामल, भटमास, चप्पल, घिउलगायतका वस्तु प्रदर्शनीमा राखिएका छन्। उक्त महिला संघकी अध्यक्ष इन्दिरा रेग्मी महिलाले उत्पादन गरेको सामानको बजारीकरणको लागि मेलामा सहभागी भएको बताउँछिन्।
‘हामी पनि केही गरेर आत्मनिर्भर हुनुपर्छ भनेर महिलाले आफूले जानेको वस्तुहरु उत्पादन गरिरहेका छन्। ती सामान बिक्री गर्न बजारको अभाव छ,’ अध्यक्ष रेग्मी भन्छिन्, ‘मेलामा सहभागी हुँदा धेरै कुराहरु सिकिन्छ र आफ्नो सामानको प्रचार–प्रसार पनि हुन्छ भन्ने सोचले आएका छौं।’

मेलामा आएर महिलाहरुले पनि केही गर्न सकिने रहेछ भन्ने आत्मविश्वास बढेको छ। अछाम जिल्लाबाट काठमाडौं मेलाको लागि आउन धेरै समस्या छ। तिन वटा गाडी परिवर्तन गरेर मेलामा सहभागी भएको उनको भनाइ छ।
बर्दियाकी अन्जना मल्लको समूहले दिगो नेपाल नाम दिएर बाँसबाट विभिन्न सामानहरु उत्पादन गर्दै आएका छन्।
‘प्लाष्टिकको विकल्पको रुपमा बाँसबाट सामानहरु बनाउँदै आएका छौं,’ मल्ल भन्छिन्, ‘हामीले दैनिक जीवनमा प्रयोग गरिने प्लाष्टिकको सट्टामा केही प्रकृतिमैत्री सामाग्रीहरु प्रयोग गरियो भने राम्रो हुन्छ भन्ने उद्देश्यले बनाएका हौं।’
उनका अनुसार प्लास्टिक प्रयोग कम गर्ने उद्दश्यले इकोसाथीले बाँसबाटै दर्जनौं संख्यामा सामग्री बनाएका छन्। उनीहरुले बाँसबाट बनाइएका काइयो, ब्रस, पेन, बोतल, चपिङ बोर्डगायतका वस्तु मेलामा राखेका छन्। साथै, अन्य विभिन्न सामग्री बनाउने र उत्पादन गर्ने कार्यमा सक्रिय हुने सोचमा रहेको मल्ल बताउँछिन्।
यस्तै, कालिका महिला उद्यमी समूहले पनि आफ्ना हस्तनिर्मित सामग्री मेलामा राखेका छन्। उनीहरुले हातले बुनेका ढाकाको सारी, पछ्यौयरी, कुर्ता सेट, ब्यागलगायतका वस्तु निकै आकर्षक र युनिक लाग्थे। यस्ता मेलाले आफूजस्ता उद्यमी महिलाको सीपबाट निर्मित सामानले बजार पाउने र पहिचान पाउने उनीहरुको विश्वास छ।

महिला उद्यमी संघ डडेल्धुराका महिला समूहले पनि हस्तनिर्मित सामानहरु प्रदर्शनीको लागि राखेका छन्। उनीहरु बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीद्वारा उत्पादित वस्तुले बजार नपाएको गुनासो गर्छन। आगामी दिनमा महिलाले आफ्ना उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सक्छन् भन्ने उद्देश्य लिएर यस मेलामा सहभागि भएको उनीहरुको भनाइ छ।
मेलामा बिर्मा कुमारी थलाल कसेरासहितको पाँच जनाको अर्को महिला समूहले पनि यस्तै उदाहरणीय काम गरेको देखिन्छ। उनीहरुले केराको बोटबाट बनेका म्याट, टेबुल रनर, टिम्याट, डोरम्याट, ब्यागजस्ता सामान उत्पादन गरेका रहेछन्। यसलाई पनि उनीहरुले प्रदर्शनीमा राखेका थिए। ‘केही काम गरी आत्मनिर्भर बन्ने लक्ष्यका साथ सामूहिक रुपमा हामीले यो काम गर्दै आएका छौं,’ उनले भनिन्।
महिला उद्यमीहरुले धेरै समस्याहरु पार गर्दै आफ्नो वस्तुहरु प्रचार–प्रसारका लागि मेलामा सहभागी भएका छन्। मेलामा अपांगता भएका तथा नवउद्यमीका उत्पादित सामग्री र उनीहरुको कामसमेत सबैलाई उर्जा दिने किसिमको छ। मेलामा हातले बनाएका सामग्री, शृंगार सामग्री, कृषि उत्पादन, सजावटका सामग्री, घरमा बुनेका सामग्री, काठजन्य वस्तु, गरगहनालगायत विभिन्न वस्तुले नेपाली मौलिकता र पहिचान तथा हाम्रो संस्कृति र परम्परामा विविधिताको सुन्दर चित्रण गरेको छ।

