काठमाडौं। काठमाडौं टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले युवालाई दक्ष बनाउन योजनावद्ध रुपमा अघि बढेको बताएका छन्। केटीएसमा आयोजित सीपयुक्त नेपाली र समृद्ध नेपाल निर्माण अभियानलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै, सो अभियानमार्फत हरेक वर्ष कम्तीमा १० हजार युवालाई दक्ष बनाउने लक्ष्य रहेको उनको दाबी छ। केटीएसले केयर गिभर, हस्पिटालिटी, आईटी प्राविधिक र उद्योगमा चाहिने श्रमशक्ति उत्पादन गर्न सक्ने अध्यक्ष पौडेलको भनाइ छ। अहिलेका युवाहरुलाई बिजुलीको लाइन मर्मत गर्न, बिरामीको हेरचाह गर्न वा कम्प्युटरमा कोडिङ गर्न सक्ने बनाउन चाहेको उनले बताए।
युवाहरुलाई स्वरोजगारमा जोड्न योजनाबद्ध ढंगले अघि बढेको उल्लेख गर्दै उनले गहिरो अध्ययनपछि केही निष्कर्षसहित उक्त अभियान चलाएको बताए। अध्यक्ष पौडेलले शिक्षा फ्यान्सी नभई अघि बढ्ने आलम्ब भएको उल्लेख गरे। शिक्षा मानिसले आफ्नो क्षमता देखाउने र योगदान गर्ने आधार भएको बताउँदै उनले यसलाई प्रगतिको भर्याङ चढ्ने माध्यमको रुपमा समेत व्याख्या गरेका छन्। केटीएसमार्फत युवाका लागि सजिलो भऱ्याङ निर्माण गर्ने प्रयास गरी गरेको उनको भनाइ छ।
'मैले प्राप्त गरेको ज्ञान के हो भने शिक्षा कुनै फ्यान्सी कुरा होइन, वास्तविकता हो, जिन्दगीमा अघि बढ्ने आलम्बन हो', उनले भने, 'मानिस भएर जन्म लिएपछि आफ्नो क्षमता देखाउने र योगदान गर्ने आधार हो, सजिलो गरी प्रगतिको भर्याङ चढ्ने माध्यम हो। केटीएसमार्फत हामी नेपाली युवाका लागि त्यस्तै सजिलो भऱ्याङ निर्माण गर्ने प्रयास गर्दैछौँ।‘
रोजगारदातासँग छलफल गरेको उल्लेख गर्दै उनले वस्तुगत संघ र महासंघसँग काम गरेको जिकिर गरे। युवाहरुले भनेजस्तो रोजगार दिन सक्ने दाबी गर्दै उनले बजारको साँचो आवश्यकताबारे जानकार रहेको बताए।
उनले भने, 'हामीले रोजगारदाताहरूसँग छलफल गरेका छौँ। वस्तुगत संघहरु र महासंघहरुसँग काम गरेका छौँ।बजारको साँचो आवश्यकता थाहा पाएका छौँ। यो हामी गर्न सक्छौँ किनभने हामी आफैँ पनि लगानीकर्ता हौँ,रोजगारदाता हौँ।‘