काठमाडौं। गत फागुन १ गते २६७८ विन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हाल करिबकरिब सोही विन्दुमा छ। गएको फागुन १ गते २६७८ विन्दुमा रहेको नेप्से त्यसपछिका ९ कारोबार दिन लगातार उकालो लाग्दै २१२ अंकको वृद्धिका साथ फागुन १८ मा २८९० विन्दुसम्म पुग्यो।
उक्त लगातारको नौ कारोबार दिनको वृद्धिपछि भने नेप्सेको ओरालो यात्रा सुरु भयो। फागुन १८ गते २८९० विन्दुमा रहेको नेप्से त्यसपछिको लगातारको सात कारोबार दिन घट्दै फागुन २७ मा २७१९ विन्दुमा खुम्चियो। सात दिनको लगातारको गिरावटपछि फागुन २८ मा १७ अंकले बढेर नेप्से २७३६ विन्दुमा रोकियो।
फागुन २८ मा नेप्सेले केही सुधारको संकेत देखाएपनि त्यसो हुन सकेन। फागुन २८ पछिको छ कारोबार दिन नेप्से फेरि निरन्तर संकुचित बन्दै चैत १० मा २६१४ विन्दु कायम भयो। यसपछि, चैत ११ (सोमबार) मा नेप्से २६.१० अंकले बढेर २६४० विन्दुमा रोकिएपनि फेरि चैत १२ गते (मंगलबार) नेप्से ५८.०५ अंकले घट्दै २५८२ विन्दुमा रोकियो।
समग्रमा पछिल्लो एक महिनाको कारोबार हेर्दा नेप्सेमा तीब्र उतारचढाव आएको देखिन्छ। अघिल्लो कारोबार दिन बुधबार (चैत १३) नेप्से फेरि ३९.१३ अंकले बढेर २६२१ विन्दुमा पुग्यो। बुधबार उच्च अंकले बढेको बजारले बिहीबार पनि सोही किसिमको साथ पाएको छ।
अर्थात्, साताको कारोबारको अन्तिम दिन बिहीबार (आज) नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ विन्दुमा रोकिएको छ। अर्थात्, उच्च अंकको वृद्धिसँगै बिहीबार सेयर बजारले सकारात्मक लयको संकेत देखाएर बन्द भएको छ।
आज नेप्सेमा कुल ५ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
पछिल्लो एक महिनाको कारोबार रकमलाई हेर्ने हो भने नेप्सेमा एकै दिन १४ अर्ब बढीसम्मको कारोबार भएको देखिन्छ। गत फागुन १८ गते नेप्सेमा १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। तर, त्यसबाट सूचकसँगै कारोबार रकम पनि संकुचित बन्दै गएको हो।
बिहीबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको भने घटेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य ०.९० प्रतिशतले बढ्दा विकास बैंक समूह १.१० प्रतिशत, फाइनान्स समूह १.३० प्रतिशत, होटल तथा पर्यटन समूह ०.४४ प्रतिशत, जलविद्युत् समूह १.०९ प्रतिशत र लगानी समूह २.२० प्रतिशतले उकालो लागेको छ।
यस्तै, जीवन बिमा समूह १.७१ प्रतिशत, उत्पादन समूह ०.९२ प्रतिशत, लघुवित्त समूह २.२२ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.८५ प्रतिशतले सुधार भएको छ।
अघिल्लो कारोबार दिन बुधबार भने बैंकिङ समूहको सेयर मूल्य १.२० प्रतिशतले बढ्दा विकास बैंक समूह १.२७ प्रतिशत, फाइनान्स समूह १.८८ प्रतिशत, होटल तथा पर्यटन समूह १.८१ प्रतिशत, जलविद्युत् समूह १.८१ प्रतिशत र लगानी समूह १.६७ प्रतिशतले उकालो लागेको थियो।
यस्तै, बुधबार जीवन बिमा समूह २.१४ प्रतिशत, उत्पादन समूह ०.९८ प्रतिशत, लघुवित्त समूह १.४३ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.७९ प्रतिशतले सुधार भएको थियो।