काठमाडौं । राजधानी जोड्ने देशकै महत्वपूर्ण मानिएको ‘नागढुंगा—सिस्नेखोला सुरुङमार्ग’ तोकिएको ‘सेड्युल’ भित्र मुख्य सुरुङ खन्ने काम सुरू हुन नसक्ने देखिएकाे छ । आयोजना ‘साइट’को जग्गा अधिग्रहणमा समस्या देखिएपछि मुख्य सुरुङ खन्ने काम पछि धकेलिने भएको हो ।
आयोजना निर्माण सुरु गर्न सबैभन्दा ठूलो समस्या जग्गाकै हुने गर्छ । काठमाडौंतर्फ चन्द्रागिरी नगरपालिका—१ टोटेपाखाको अधिकांश जग्गा अधिग्रहण गरिए पनि धादिङको धुनिबेसी नगरपालिका—९ सिस्नेखोलातर्फको जग्गामा समस्या देखिएको छ ।
त्यहाँ लालपुर्जा नभएका व्यक्तिको १३ रोपनी र २५ रोपनी गुठीको जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन् । जुन, जग्गा सुरुङमार्गका लागि अधिग्रहण गर्नैपर्छ । लालपुर्जा नभएका तर, फिल्डबुकमा कसैको नाम जनाइएका व्यक्तिलाइ कुन आधारमा मुआव्जा दिने भन्ने समस्या आयोजनालाई छ ।
अर्कोतर्फ, सिस्नेखोला जहाँ, सुरुङमार्ग प्रवेश गर्ने स्थलमा पार्किङस्थल, रेष्टुरेन्ट, शौचालय, नुहाउने रुम लगायतका सेवासुविधा निर्माण बनाउनुपर्छ । त्यहाँ २५ रोपनी गुठीको जग्गा पर्दो रहेछ । त्यो जग्गा अन्य मोहीले भोगचलन गर्दै आएका छन् । जग्गाधनी र मोहीले ५०÷५० प्रतिशतका दरले मुआव्जा पाउनुपर्ने भनिरहेका छन् ।
तर, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भने एकतिहाइ सम्बिन्धित मोहीलाइ दिने र दुईतिहाइ गुठीलाइ दिनू भनेर यसअघि नै निर्णय गरिसकेको छ ।
सरकारको निर्णय स्थानीयले मानिरहेका छैनन् । एकतिहाइ मुआव्जा निकै कम भयो भनेर उनीहरुले विरोध गरिरहेको अवस्था छ । यसले पनि जग्गा अधिग्रहणमा समस्या छ ।
धादिङतर्फको लालपुर्जा नभएका र गुठी जग्गाको अधिग्रहणमा समस्या देखिँदा मुख्य सुरुङमार्गको काम तोकिएको ‘सेड्युल’ अनुसार सुरु हुन नसक्ने आशंका रहेको सडक विभागअन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
बैशाखाबाट मुख्य सुरुङको काम अघि बढाइने भनिए पनि जग्गा अधिग्रहण, मेसिन आयात, बिष्फोटक पदार्थ आयातमा देखिएको अन्योलताले ढिलाइ हुन सक्ने बताए । ‘१३ रोपनी जग्गा लालपुर्जा नभएका तर, फिल्डबुकमा कसैको नाम जनिएका व्यक्तिको जग्गा पर्छ । २५ रोपनी जति गुठीको जग्गा पर्दो रहेछ ।
तर, मोहीले प्रयोग गरिरहेका छन्’ उनले भने, ‘मुख्य सुरुङको काम बैशाखबाट सुरु गर्नुपर्ने हो । यो समस्याले तोकिएको ड्युलअनुसार सुरु हुने स्थिति छैन् ।’
त्यतिमात्रै होइन, सुरुङ खन्ने मेसिन जापानबाट ल्याउनुपर्ने छ । ठेकेदार कम्पनी मेसिन ल्याउन ‘मोबिलाइज’ भएपनि त्यो ल्याउन २ देखि ३ महिना लाग्छ । मेसिन साइटमा ल्याएपछि मात्रै ठेकेदारले सुरुङ खन्ने काम सुरु गर्ने थापा बताउँछ ।
त्यस्तै, सुरुङमार्ग खन्न बिष्फोटक पदार्थ आवश्यक हुन्छ । त्यसका लागि बिस्फोटक पदार्थ भारतबाट ल्याउने भने पनि नेपाली सेनाले स्वीकृती दिएको छैन् । जापनीज ठेकेदारहरुले नेपालको बिष्फोटक पदार्थको (इफिसेन्सी) छैन भनेकाले भारतबाट बिष्फोटक पदार्थ ल्याउनुपर्ने अवस्था रहेको थापा बताउँछन् ।
बिष्फोटक पदार्थ खरिद गरेर सुरक्षण गर्नुपर्छ । तर, कहिलेसम्म ल्याउने भनेर टुंगो लागेको छैन् । नेपाली सेनाले नेपालकै बिष्फोटक पदार्थ इफिसेन्ट भएकाले ट्रयालका रुपमा प्रयोग गर्न भनिरहेका छन् ।
मुख्य सुरुङमार्गको काम सुरु गर्न केही बढी समय लाग्न सक्ने आयोजना प्रमुख श्याम खरेल बताउँछन् । ‘ठेकेदार साइटमा परिचालन भइसकेको छ । साइड रोड र अन्य सहायक काम भइरहेका छन्’ उनी भन्छन, ‘मुख्य सुरुङ खन्न केही समय लाग्ला ।’
जापानको हाज्मा एन्डो कर्पोरेसनले ठेक्का लिएको सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्नुपर्छ । तर, मुख्य सुरुङमार्ग निर्माणमै ढिला भएपछि तोकिएको कार्यतालिका लम्बिने खतरा उत्तिकै छ ।
२०१९ को सेप्टेम्बर २३ मा उक्त कम्पनीसँग सरकारले ठेक्का सम्झौता गरेको हो । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग(जाइका)को साढे १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब सरकारको गरी साढँ २२ अर्ब रुपैयाँमा सुरुङमार्ग आयोजना अघि बढाइएको छ । सुरुङमार्ग डिजाइन परामर्शदातामा जापानकै निप्पन कोइ लिमिटेड रहेको छ ।
झन्डै २.६८ किलोमिटर लम्बाइको आधुनिक डिजाइन र चिनियाँ मोडेलमा सुरुङमार्ग बनाइनेछ । सुरुङमार्ग बनाउन बिस्फोटक पदार्थको प्रयोग गरिनेछ । सुरुङमार्गको गोलाइ अर्थात परिधि साढे १० मिटरको बन्नेछ ।
अत्याधुनिक र उच्च गुणस्तरको सुरुङमार्गमा दुइओटा ‘फ्लाइओभर’ सहित बनाइनेछ भने, एक आकस्मिक÷उद्धार सुरुङमार्ग बन्ने डिजाइन छ । सुरुङमार्गभित्र दुई लेनको सडक हुनेछ भने दुबैतर्फ दायाँ बाँया पैदलयात्री हिड्न मिल्नेगरी पेटी बनाइनेछ । सुरुङमार्ग बनेपछि झन्डै २५ बर्ष सामान्य मर्मत सम्भारबाहेक सुरुङमार्ग अरु केही गर्नुपर्दैन् ।