काठमाडौं। नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ सथापाना गरेको छ। केन्द्रीय बैंकले वित्तीय बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले उक्त हब स्थापना गरिएको हो।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागद्वारा स्थापित उक्त हबले प्रविधि (फिन टेक) र डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न तथा नवप्रवर्तनकारी समाधानलाई संस्थागत रुपमा अघि बढाउन सहयोग गर्ने उल्लेख गरिएको छ।
फिन टेकको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुनेवित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन् बाइन्डिङ गाइडनेस, परामर्श र सुझावहरु हबमार्फत् प्रदान हुनेछ।
नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्था हबमा गरिएको राष्ट्र बैंकले जनाएको छ।
हबमार्फत नवप्रवर्तनकर्ताहरुलाई नीतिगत तथा नियामकीय व्यवस्थाबारे जानकारी प्रदान हुनेछ। साथै, नवीन वित्तीय सेवाहरूको नियमन, सम्भावना मूल्यांकन र सम्भावित जोखिमको विश्लेषण गर्दै डिजिटल भुक्तानी प्रणालीको सुदृढीकरण गरिने छ।
यो हब नियामक, सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था तथा अन्य सरोकारवालाबीच समन्वयकारी भूमिका खेल्ने छ। साथै, नवीनतम प्रविधि र डिजिटल वित्तीय सेवाहरूको दिगो विकासका लागि सहजीकरण गर्ने विश्वास गरिएको छ।
डिजिटल भुक्तानी र वित्तीय नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउने महत्वपूर्ण प्रयास स्वरूप यो हबको स्थापना गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
