काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत आएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको ‘ऊर्जा आयोजनामा कार्बन वित्त, लगानीका अवसर’ विषयक गोष्ठीमा उनले कार्बन बिक्रीबापतको रकम गरिब, आर्थिक अवस्था कमजोर भएका, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताएका हुन्।
‘कार्बन कोषमार्फत दूरदराजमा रहेका गरिब, विपन्न र पिछडिएका जनताका लागि सोलारसहित मिटर राखिदिएमा स्थानीयलाई आम्दानीको वातावरण निर्माण हुन्छ। यो कार्यले सरकारले राखेको विपन्न नागरिकलाई समृद्ध बनाउने लक्ष्यमा सहयोग पुग्ने छ,’ उनले भने।
मन्त्री खड्काले सरकारका अंगले सरकार र मुलुकलाई सहयोग गरी जनहितमा काम गर्नुपर्ने बताए। ‘प्रचारप्रसार गरेर होइन, काम गरेर स्थापित हुने काम गरौँ, अनुशासित भएर काम गर्नेलाई सरकारले सम्मान पनि गर्ने छ,’ उनले भने।
उनले नेपाल जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र भएको जनाउँदै नेपालले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिलसम्बन्धी दीर्णकालीन रणनीति लिएको सन्दर्भमा स्वच्छ ऊर्जा रुपान्तरणको माध्यमबाट उक्त लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
यस्तै, मन्त्री खड्काले हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराई ऐनका रूपमा कार्यान्वयन गराउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे।