काठमाडौं– पोखरामा पहिलो पटक क्षेत्रीय स्तरको अटो शो सुरु भएको छ। आजदेखि सुरु भएको वाडा अटो शो चैत १७ सम्म हुनेछ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयोजनमा सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाड)ले पहिलो पटक पोखरामा क्षेत्रीय अटो शो आयोजना गरेको हो।
‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ घोषणा गरेर नाडाले पहिलो पटक काठमाडौं बाहिर अटो शो गरेको हो।
आयोजकका अनुसार वाडा अटो शोमा सात दुईपांग्रे, ६ ईभी लाइट कमर्सियल सवारी र १९ वटा चारपांग्रे ब्रान्डले सहभागिता जनाएका छन्।
वाडा अटो शोमा सहभागी दुईपांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्। दुईपांग्रेमा विद्युतीय सवारी ब्रान्ड एथर रहेको छ।
चारपांग्रेतर्फ ईभी ब्रान्डकै बाहुल्य छ। चार पांग्रेतर्फ हुन्डाई, दिपल, स्काईवेल, ओमोडा÷जेइको, निसान÷जीिर, लिपमोटर्स÷सिट्रोन, महिन्द्रा, सुजुकी, एमजी, एलईभी, टोयोटा, नामी, किया, इसुजु, केई, टाटालगायत ब्रान्डले अटो शोमा सहभागिता जनाएका छन्।

लाइट कमर्सिलय ईभीतर्फ पाँच ब्रान्ड हाइगर, न्यू गोनाओ, स्काईवर्थ, डोङफेङ र कामा ब्रान्डका सवारी वाडा अटो शोमा राखिएका छन्। यस्तै, २५ वटा सवारी पार्टपुर्जाका ब्रान्ड, ३ बैंक, बिमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी पनि प्रदर्शनीमा सहभागी भएको वाडा अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए।
सवारी साधन व्यवसामा संलग्न उद्योगी, व्यवसायी एवं उपभोक्तालाई वाडा अटो शोले नवीन प्रविधिको व्यापार गराएर अर्थतन्त्र चलायमान बनाउन आशा जगाउने अपेक्षा गरिएको उनको भनाइ छ।
कार्यक्रममा नाडा अध्यक्ष करण चौधरीले पहिलो पटक काठमाडौंबाहिर सञ्चालन गरिउको वाडा अटो शो अर्थतन्त्रलाई चलायमान बनाउने र क्षेत्रीय स्तरमा वार्षिक रूपमा आयोजना गर्न सकिने अवस्था देखाउने बताए।
यस्तै, पोखरा महानगरका मेयर धनराज आचार्यले यो वर्षलाई भ्रमण वर्ष घोषणा गरेकाले यसमा पनि वाडा अटो शोको भूमिका उल्लेख्य हुने विश्वास व्यक्त गरे। वाडा अटो शोले उपभोक्तालाई एकै ठाउँमा सबै ब्रान्डका सवारी हेर्ने र खरिद गर्ने अवसर दिएको उनको भनाइ छ।